ओलीले संसदमा भने, ‘रामवरण र परमानन्दलाई संविधानसभाले चिन्दैन’

काठमाण्डु टुडे २०७० माघ २४ गते ६:१८ मा प्रकाशित

KP-Oliकाठमाण्डु, २४ माघ– संविधानसभाको दोस्रो ठूलो दल एमालेले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रक्रिया अघि बढाउन संसद सचिवालयलाई आग्रह गरेको छ ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता केपी ओलीले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भएकाले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

ओलीले वर्तमान संविधानसभा अघिल्लो संविधानसभाको निरन्तरता नभई नयाँ भएकाले राष्ट्रपति निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरे । नयाँ संविधानसभाले पूराना राष्ट्रपति र उपराष्ट्रपति नचिन्ने टिप्पणी उनको थियो ।

नयाँ संविधानसभाले पूराना राष्ट्रपति र उपराष्ट्रपति चिन्दैन’, ओलीले भने, यो दोस्रो नभई नयाँ संविधानसभा भएकाले तत्काल राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया अघि बढाइयोस् ।’

ओलीले आफूलाई लोकतान्त्रिक दाबी गर्ने काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे लोकतान्त्रिक मान्यताविपरित अडान लिएको टिप्पणी पनि गरे ।

केही सिटले कांग्रेस एमालेभन्दा ठूलो दल भएको भन्दै ओलीले परिस्थिति आए आफू सरकारको नेतृत्व गर्न तयार रहेको दोहोर्याए ।

‘काँग्रेस केही सिटले गर्दा हामीभन्दा ठूलो छ, त्यसैले उसकै नेतृत्वमा सरकार गठन गर्न एमाले खुल्ला छ’ ओलीले भने, ‘कांग्रेसले भन्छ भने कांग्रेसको प्रस्तावमा सरकारको नेतृत्व गर्न एमाले तयार छ ।’

साथै उनले सहमतिको प्रस्ताव ल्याउन काँग्रेसलाई आग्रहसमेत गरेका छन् ।

यता काँग्रेस नेता अर्जुन नरसिंह केसीले संविधानको व्यवस्था विपरित एमालेले राष्ट्रपति निर्वाचनको कुरा उठाएको बताए । संविधान जारी नभएसम्म राष्ट्रपति कायम रहनेभन्ने कुरा अन्तरिम संविधानमा उल्लेख रहेकाले किचलोमा फस्नु नहुने उनको भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us