बुद्धको मावली अझै भेटिएन !

काठमाण्डु टुडे २०७० माघ २० गते १२:५५ मा प्रकाशित

Gautam-Buddhaबुटवल, २० माघ – शाक्यमुनि सिद्धार्थ गौतमको मावली क्षेत्र अनुमान गरिएको रूपन्देहीको केरवानी गाविस ७ स्थित भवानीपुर र देवदह गाविसको कन्यामाईको लगातार तीन पटकसम्मको उत्खननबाट बुद्धकालीन कुनै प्रमाण फेला पर्न सकिएको छैन ।

ऐेतिहासिक तथा पुरातात्विक सम्पदा रहेको अनुमान गरिएको भवानीपुरमा पुरातत्व विभागले बुद्धकालीन अवशेष रहेको अनुमानका आधारमा गरिएको उत्खननमा गुप्तकालीन र कुशाणकालीन पुरातात्विक सामग्री मात्र प्राप्त भएका छन् ।

विभागले पछिल्लो पटक यही माघ ३ गतेदेखि १८ गतेसम्म गरेको उत्खननबाट ढुङ्गाका मुर्कट्टा मूर्ति, तामाका मुद्रा, रातो रङका माटोका भाँडाकुँडा, खेलौना र बसाहा प्राप्त भएको उत्खनन्मा संलग्न राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नालले जानकारी दिए । ती सामग्रीको प्रकृतिअनुसार बुद्धकालीन कुनै प्रमाण फेला नपरेको उनले बताए । उनका अनुसार भवानीपुरमा कन्यामाइमा भन्दा फरक गुप्तकालीन र कुशाणकालीन संँगै मध्यकालीन अवशेष फेला परेको छ ।

यस पटकको उत्खननबाट भवानीपुरमा फेला परेको पर्खालको संरचना ३१.५ मिको रहेको र यो पश्चिमोत्तर मोहडाको फेला परेकाले यसलाई हेर्दा कुनै ठूलो घर वा मन्दिर, त्यससँगै मन्दिरमा जल चढाउन लगिएको धारासँगै नजिकैको विद्यालय क्षेत्रमा ससाना घर वा बस्ती जस्तो संरचना  फेला परेको पुरातत्वविद् दर्नाल बताउँछन् ।

विभागले यसअघि २०६८ र २०६९ सालमा उत्खनन गरेको थियो । स्थानीय बासिन्दाले सो ठाउँलाई सिद्धार्थकी आमा मायादेवी र पत्नी यशोधराको जन्मस्थल कोलीय राज्यको राजधानी देवदह भएको विश्वास गर्दै आएका छन् । यही कुराको वास्तविकता पत्ता लगाउने उद्देश्यले  विभागले उत्खनन गरेको हो ।

भग्नावशेष : महत्वपूर्ण उपलब्धि
स्थानीयवासीले अशोकस्तम्भ भनी मानेको सामग्री शिवलिङ्ग प्रमाणित भएको छ । बुद्धकालीन प्रमाणित हुनाका लागि चिल्लो कालो रङका माटाका भाँडा र अवशेष भेटिनुपर्छ ।

यहाँ त्यस्ता सामग्री भेटिएका छैनन् । पर्खाल र इनारको संरचनाबारे पूर्ण जानकारी पाउन अझै उत्खनन गर्नुपर्ने धारणा दर्नालको छ । यहाँ ठूलो भग्नावशेष भएको बताउँदै दर्नालले यो राष्ट्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यो ठाउँलाई उपेक्षा गर्न नहुने उनको भनाइ छ ।

कोलीय राज्यको राजधानी पत्ता लगाउने उद्देश्यले विभागले देवदह गाविसको कन्यामाई र केरवानी गाविसका भवानीपुर एवं नवलपरासीको बन्जरिया गाविसको पण्डितपुरमा उत्खनन जारी राखेको छ ।

उनका अनुसार पण्डितपुरमा बुद्धकालीन संरचनासंग मिल्ने लुम्बिनी र तिलौराकोटमा फेला परेका अवशेषसँग मिल्ने धेरै वस्तु फेला परेका छन् । पण्डितपुरमा चौथो उत्खनन यही माघ २२ गतेदेखि सुरु गर्ने तयारी भएको छ । यसअघिका उत्खननबाट पण्डितपुरमा बुद्धकालीन अवशेष प्रशस्त प्राप्त भएका थिए ।

कन्यामाई र भवानीपुरको उत्खननमा लुम्बिनी र तिलौराकोटमा जस्तो इँटासमेत नदेखिएपनि अहिलेसम्मको उत्खननबाट यी क्षेत्र बुद्धकालीन ठाउँ नभएको प्रमाणित भएको दर्नालको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us