धौलागिरी अञ्चल खुला दिसामुक्त

काठमाण्डु टुडे २०७० माघ १७ गते ४:२४ मा प्रकाशित

बागलुङ, १७ माघ – धौलागिरि अञ्चललाई देशकै पहिलो खुला दिसामुक्त अञ्चल घोषणा गरिएको छ । बिहीबार अञ्चल सदरमुकाम बागलुङ बजारमा भएको एक विशेष समारोहबीच अञ्चललाई खुला दिसामुक्त अञ्चलका रुपमा घोषणा गरिएको हो ।

घोषणासभाको उद्घाटनपछि संघीय मामिला तथा स्थानीय विकासमन्त्री विद्याधर मल्लिकले अञ्चलको घोषणापश्चात् पछि पूर्ण सरसफाइ र आनीबानी परिवर्तनमा निरन्तररुपमा लागिरहने प्रतिबद्धतामा हस्ताक्षर गरे ।

मल्लिकसँगै मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पनि हस्ताक्षर गरे । चारै जिल्लाका स्थानीय विकास अधिकारीहरुले खुला दिसामुक्त घोषणाप्रति शपथ खाँदै पूर्ण सरसफाइप्रतिको अभियानमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय विकास अधिकारीहरुलाई मन्त्री मल्लिकले शपथ खुवाएका थिए ।

यसअघि पर्वत, म्याग्दी, मुस्ताङ जिल्ला खुला दिसामुक्त भए पनि बागलुङ जिल्लालाई भने बिहीवारकै समारोहमा खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको थियो ।

जिल्ला घोषणापछि अञ्चल घोषणा गरिएको थियो । अञ्चल पहिलो बने पनि बागलुङ जिल्ला भने देशभरमा तेह्रौँ खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा भएको हो । घोषणा समारोहमा विभिन्न मन्त्रालयका सचिव र विभागका महानिर्देशकहरुको समेत सहभागिता रहेको थियो ।

घोषणापछि समारोहलाई सम्बोधन गर्दै मन्त्री मल्लिकले नेपाल सरकारले आगामी सन् २०१७ सम्म देशलाई पूर्ण सरसफाइ तथा खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us