नवलपरासी बर्डफ्लुमुक्त जिल्ला घोषित

काठमाण्डु टुडे २०७० माघ १५ गते १०:०३ मा प्रकाशित

परासी, १५ माघ– नवलपरासीलाई बर्डफ्लुमुक्त जिल्ला घोषणा गरिएको छ । नवलपरासीको परासीमा क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराले आयोजना गरेको कार्यक्रममा क्षेत्रीय पशुसेवा निर्देशक डा. वंशी शर्माले यो जानकारी दिएका हुन् ।

बर्डफ्लु नदेखिने मापदण्ड पूरा भएकाले जिल्लालाई बर्डफ्लुमुक्त जिल्ला घोषणा गरिएको हो । निर्देशक शर्माले मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने ६० प्रतिशत रोग नियन्त्रण गर्नसके नेपाललाई रोगमुक्त देश घोषणा गर्न सकिने बताए । उनका अनुसार विगतमा नेपालमा एकसय ५० पटक बर्डफ्लुको प्रकोप देखिएकामा नवलपरासीमा तीन पटक सम्म देखिएको थियो ।

यसैबीच, सशस्त्र प्रहरी जिल्ला सुरक्षा पोस्ट परासीको एक गस्ती टोलीले करिब १० लाख रुपैयाँ बराबरको कुखुराका चल्ला सीमावर्ती क्षेत्रबाट बरामद गरी नष्ट गरेको छ । टोलीले जिल्लाको देवगाँव गाउँ विकास समितिबाट चल्ला बरामद गरी नष्ट गरेको प्रहरी नायब उपरीक्षक खेमबहादुर थापाले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us