धनकुटा औद्योगिक क्षेत्रको मुहार फेरिने

काठमाण्डु टुडे २०७० माघ १५ गते १:५४ मा प्रकाशित

धनकुटा, १५ माघ – घोषणा भएको तीन दशक बितिसक्दा पनि गौचरनका रुपमा रहेको धनकुटाको औद्योगिक क्षेत्रको लामो समयको पर्खाइपछि मुहार फेरिने भएको छ ।

औद्योगिक क्षेत्रको जग्गा उपयोगका लागि सरकारले यो वर्ष व्यवस्थापन कार्य सुरु गर्ने भएपछि औद्योगिक क्षेत्रको मुहार फेरिने भएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वमा २०३९ सालमा छुट्याइएको ६२ रोपनी जग्गा अधिग्रहणको ३१ वर्षपछि व्यवस्थापनमा चासो दिइएको छ ।

उक्त जग्गाको आन्तरिक व्यवस्थापनमा चालु आर्थिक वर्षमा २१ लाख ६४ हजार रुपैयाँ विनियोजन गरी औद्योगिक ग्राम व्यवस्थापनमा खर्च गर्न लागिएको घरेलु तथा साना उद्योग व्यवस्थापन समिति धनकुटाका लेखापाल नारायण खत्रीले जानकारी दिए ।

यसअघि औद्योगिक क्षेत्र स्थापनाकालमा ५६ लाख रुपैयाँ खर्च गरी जग्गा खरिद, तारबार, खानेपानी पाइपलाइन बिछ्याउने काम गरिएको थियो । धनकुटा नगरपालिका–३ आत्मारास्थित अमलेटारमा रहेको उक्त जग्गा प्रयोगमा नआउँदा गौचरनका रुपमा रहँदै आएको थियो ।

यसअघि नै औद्योगिक व्यवस्थापनका लागि केन्द्रीय कार्यालयले विस्तृत अध्ययन गरी १७ करोड रुपैयाँ अनुमानित लागतसहितको प्रतिवेदन उद्योग मन्त्रालयमा बुझाए पनि काम भने अघि बढ्न सकेको थिएन । २०३९ सालमा देशका धरान, हेटाँैडा, बुटवल, बालाजुसँगै औद्योगिक ग्रामका रुपमा घोषणा भएको यो जग्गा सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको थियो ।

लामो समयदेखि सर्वसाधारणको जग्गा अतिक्रमण गरी गौचरनका रुपमा राख्दा स्थानीयवासी मर्कामा परेको भन्दै सरकारले यस वर्षबाट काम थालनी गर्न लागेकामा आफूहरु खुसी भएको स्थानीय जीवन न्यौपानेले बताए । विनियोजित रकमबाट यस वर्ष औद्योगिक क्षेत्रको तार बेरा गरी आगामी दिनमा औद्योगिक क्षेत्रकै रुपमा विकास गरेर लैजाने कार्यक्रम रहेको घरेलु तथा साना उद्योग समितिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us