
इलाम, १५ माघ । लगानी गरिएको ऋण असुल नभएपछि नगरपालिका आसपासका किसानलाई राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाबाट ऋण लिन समस्या परेको छ ।
बैंकले इलाम नगरपालिका र सुलुबुङको देउराली क्षेत्रमा लगानी गरेको ३८ लाख ६० हजार ऋण नउठ्दा अन्यत्रका किसानले बैंकबाट ऋण पाउन मुस्किल परेको हो ।
लघु तथा साना उद्यम कर्जाअन्तर्गत पशुपालन, अदुवा, आलुखेतीका लागि नगरपालिकाको वडा नं ४, ५, ७ मा पाँच वर्षअघि र देउराली क्षेत्रमा दुई दशकअघि बैंकले ऋण लगानी गरेको थियो । देउराली शाखाबाट दुई लाख ९५ हजार र इलाम शाखाबाट ३५ लाख ६५ हजार ऋण असुली हुन बाँकी छ । दुवै ठाउँबाट लगानी गरिएको ऋणको व्याज मात्रै एक करोड आठ लाखभन्दा बढी छ ।
‘बैंक स्थापना भएको देउराली बजारमा द्वन्द्वका क्रममा लगानी गरिएको ऋण उठ्न बाँकी नरहे पनि नगरपालिकाबाट भने ठूलो रकम उठ्न बाँकी छ’, बैंकका शाखा प्रबन्धक बद्रीप्रसाद भट्टराईले भने, ‘पूरानो कर्जा असुल भएपछि मात्र नयाँ कर्जा लगानी गर्ने बैंकको सोच छ ।’
ऋण बुझाउन आउनेलाई बैंकले अहिले विशेष छुट सुविधा उपलब्ध गराएको छ । द्वन्द्वका कारण देउरालीबाट बैंकलाई इलाम नगरपालिकामा सारिएको थियो ।
बैंकले विभिन्न शीर्षकमा ५० हजारदेखि तीन लाखसम्म ऋण लगानी गरेको छ । ऋण असुलीका लागि पटक–पटक ताकेता गर्दासमेत नउठेपछि बैंक नियमावलीअनुसार असुली प्रक्रिया अघि बढाइने जनाएको छ ।
नगरपालिका आसपासका सोयाङ, सोयाक, गोदक, शान्तिडाँडा, साङ्रुम्वा लगायतका किसान ऋण लिन बैंक आउने गरे पनि रित्तो हात फर्किनुपर्ने बाध्यता रहेको बैंकले जनाएको छ । ग्रामीण भेगका किसानमा ऋण लगानी गर्ने मुख्य लक्ष्य हुँदाहुँदै पनि पुरानो कर्जा असुली ठप्प भएकाले नयाँ छिमेकी गाविसमा नयाँ लगानी गर्न नसकिएको भट्टराईले बताए ।
बैंकले नगरपालिकाको अन्य वडा भने लगानी गरिरहेको जनाएको छ । ऋण मिनाहा हुन्छ भन्ने मानसिकताले ऋणीले ऋण तिर्न आनाकानी गरेको भए पनि बैंकले नियमावलीअनुसार असुली प्रक्रिया अघि बढाएको छ । पुरानो ऋण असुली भएपछि नगरपालिकाको छिमेकी गाविसमा कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ ।