बलेवा विमानस्थल माघभित्रै सञ्चालन हुने

काठमाण्डु टुडे २०७० माघ १४ गते ९:१६ मा प्रकाशित

RamKumarShresthaपर्वत, १४ माघ– मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल उद्घाटन भएको छ । नियमित सञ्चालनमा आएको एक वर्षपछि कुस्मा–बलेवा यान्त्रिक पुलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गरे ।

निजी क्षेत्रले सामूहिक लगानीमा व्यावसायिक प्रयोजनमा निर्माण गरिएको यो मुलुककै एक मात्र पुल हो । पर्वत उद्योग वाणिज्य संघको पहलमा करिब रु चार करोड लागतमा केबलकार मोडलमा पुल निर्माण गरिएको छ ।

यान्त्रिक पुल सञ्चालनमा आएपछि दैनिक ५०० यात्रुले वारपार गर्दै आएका थिए । पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बेला पुग्नका लागि पैदल मार्गबाट झन्डै दुई घण्टा लाग्ने गर्छ ।  यान्त्रिक पुलको सञ्चालनसँगै दुई घण्टाको यात्रा करिब चार मिनेटमा छोट्टिएको छ । पुल सञ्चालनपछि बन्द बलेवा विमानस्थल सञ्चालनमा ल्याउनसमेत सहयोग पुग्नेछ ।

पुलबाट यात्रा गर्न एकतर्फी भाडा एकसय तोकिएको छ भने, बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि ७५ तोकिएको छ । पुलले दैनिक ४५ हजार आम्दानी गर्दै आएको छ । पुल उद्घाटन गर्दै मन्त्री श्रेष्ठले निजी क्षेत्रको पहलमा यान्त्रिक पुल निर्माण गरेर पर्वतका व्यवसायीहरुले उदाहरणीय काम गरेको बताए । सडक पु¥याउन कठिन हुने खोंच र दुई पहाडलाई जोड्नका लागि यो प्रविधि मुलुकभर लैजानुपर्ने पनि मन्त्री श्रेष्ठको भनाइ थियो ।

दुई दशकदेखि बन्द बलेवा विमानस्थल सञ्चालनका लागि यान्त्रिक पुलले यातयात पूर्वाधारको काम गरेकाले माघभित्रै नियमितरुपमा विमानस्थल सञ्चालन गर्ने उनले बताए । ‘यान्त्रिक पुल निर्माणपछि बन्द विमानस्थल सञ्चालनका लागि सजिलो भएको छ,’ उनले भने, ‘सरकारले माघ महिनाभित्रमै विमानस्थल नियमितरुपमा सञ्चालनमा ल्याउनेछ ।’

यान्त्रिक पुलमा यात्रुको चाप बढेपछि पछिल्लो समयमा नयाँ प्रविधि जडान गरिएको छ । पुरानो मोटर सिस्टममा यान्त्रिक पुल सञ्चालन गर्दा समस्या भएपछि नयाँ मोटर जडान गरिएको हो ।

नयाँ मोटरबाट पुलको सञ्चालन अवधि आधा घटेको छ भने विद्युत कटौती हुँदा पनि मोटर आफ्नै गतिमा गुड्ने भएकाले बीचमा रोकिँदा झड्का लाग्ने समस्यासमेत हटेको यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us