कालीगण्डकीमा बेलिब्रिज निर्माण

काठमाण्डु टुडे २०७० माघ १४ गते ७:०७ मा प्रकाशित

म्याग्दी, १४ माघ – म्याग्दीको दाना र नारच्याङ गाविसको सिमानामा पर्ने कालीगण्डकी नदीमा मिस्त्रीखोला जलविद्युत् आयोजनाद्वारा बेलिब्रिज निर्माण गरिएको छ ।

नारच्याङ गाविसमा निर्माणाधीन ४२ मेगावाट क्षमताको सो आयोजनाले करिब रु चार करोडको लगानीमा ५६ मिटर लामो बेलिब्रिज  निर्माण गरेको हो ।

बेनी–जोमसोम सडकको तातोपानी दानाखण्डमा पर्ने नागढुङ्गाबाट नारच्याङ बेंसी जोड्ने बेलिब्रिज निर्माण भएपछि नारच्याङ गाविस पनि सिधा सडक सञ्जालसँग जोडिएको छ ।

उक्त आयोजनाकै लगानीमा नारच्याङ बेंसीको मिस्त्रीखोलामा अर्को ३६ मिटर लम्बाइको बेलिब्रिज पनि निर्माण भइरहेको नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले जानकारी दिए ।

बेलिब्रिज निर्माण भएपछि नारच्याङमा निर्माणाधीन नौवटा ठूला तथा मझौला जलविद्युत् आयोजनालगायत स्थानीयवासीलाई आवागमनमा सहज भएको छ ।

मिस्त्रीखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको कामअन्तर्गत छ किलोमिटर प्रवेश मार्गमा पुग्न दुईवटा पुल बनाएपछि जलविद्युत् आयोजनासँगै स्थानीयवासीलाई पनि निकै सहज भएको स्थानीय प्रभा माविका प्रधानाध्यापकसमेत रहेका गुरुङले बताए ।

रन अफ द रिभर प्रकारको सो आयोजनाले आगामी विसं २०७३ मा व्यापारिक विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ । रोवस्ट इनर्जी प्रालि काठमाण्डुले निर्माण गर्न लागेको आयोजनाको पाँच अर्ब ५८ करोड ९६ लागत अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us