
कञ्चनपुर, १४ माघ – कञ्चनपुरमा पहिलोपटक केराखेतीको बीमा सुरु गरिएको छ । केराखेती गर्ने व्यवसायीहरुको लगानी सुरक्षित गर्ने उद्देश्यका लागि केराखेतीको पहिलोपटक कञ्चनपुरमा बीमा गरिएको हो ।
केराखेतीको विस्तार बढेसँगै बीमा सुरु गरिएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा एक गाउँ एक उत्पादन समितिका संयोजक गणेशदत्त जोशीले जानकारी दिए । व्यावसायिक केराखेतीको लगानी सुरक्षित र केराखेती कृषकको जोखिम न्यूनीकरणमा बीमाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक जोशीले बताए ।
कञ्चनपुरमा छजना केराखेती कृषकले बीमा गरेका छन् । उनीहरुले नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा केराखेतीको बीमा गरेका हुन् ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड धनगढी शाखा प्रमुख रमेश थापाले पहिलोपटक कञ्चनपुरका छजना कृषकले बीमा गरेको बताए । भीनपा–१० जिमुवाका सुरजसिँह साउद, कृष्णपुर– ५ का सुरेन्द्रकुमार चौधरी, कृष्णलाल ढगौरा, रामपुरविलासपुरका करमसिँह राना, दैजीका नन्दकुमार राना र जोगी रानाले केराखेतीको बीमा गरेका हुन् ।
भीनपा–१० जिमुवाका साउदले ११ लाख ३५ हजार ४३, कृष्णपुरका सुरेन्द्रकुमार चौधरीले तीन लाख ११ हजार ८२५, कृष्णपुरकै कृष्णलाल ढगौराले एक लाख १८ हजार, रामपुरका करमसिँह रानाले पाँच लाख ६१ हजार २५०, दैजीका नन्द रानाले आठ लाख र दैजीकै जोगी रानाले तीन लाखको बीमा गरेका हुन् । सबैले पहिलो किस्ता बराबरको प्रिमियम रकम तिरिसकेको सो बीमा कम्पनीले जनाएको छ ।
कुल लागतको ५० प्रतिशत सरकारले तिर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत रामचन्द्र भट्टले जानकारी दिए ।
बीमाको अवधि एक वर्षको हुने र एक वर्षको अवधिमा कृषकको लगाएको पूरै केरा नष्ट भए ९० प्रतिशत क्षतिपूर्ति कम्पनीले बेर्होनेछ । बीमा कार्यक्रमले केराखेती कृषकलाई फाइदा हुने कृषि विकास कार्यालयको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बाली विकास अधिकृत भट्टका अनुसार हाल कञ्चनपुरमा २०० हेक्टर जमिनमा केराखेती गरिएको छ ।