स्लेटले उचित बजार पाएन

काठमाण्डु टुडे २०७० माघ १३ गते ११:१० मा प्रकाशित

धादिङ, १३ माघ – बजार भएर पनि व्यावसायिक उत्पादन नहँुदा मार्बलभन्दा पनि उच्चकोटीको स्थानीय स्लेट ढुङ्गाले बजार पाउन सकेको छैन । टायल र मार्बलको साटो घर सजाउन प्रयोग हुने स्थानीय ढुङ्गालाई सरोकारवाला निकायले ध्यान नदिँदा व्यावसायिक उत्पादन हुन नसकेको हो ।

धादिङको गजुरी गाविस वडा नं २ चामबास आसपासका क्षेत्रमा यस्ता ढुङ्गा प्रशस्त भेटिन्छन् । यहाँका स्थानीय जनताले फुर्सदको बेला आफ्नै बारी र पखेरा खोतलेर काटेको स्लेट ढुङ्गा अहिले प्रतिस्क्वायर फिट रु ३० सम्ममा बिक्री गर्दै आएका छन् ।

घर तथा सिंढी सजाउन प्रयोग गरिने स्लेट ढुङ्गा वर्षाैदेखि स्थानीयवासीले निकालेर बिक्री गरिरहेका छन् । लामो समयदेखि ढुङ्गा उत्खनन् गर्दै आएका ती जनताले खानी दर्ताका लागि पहल गरेको भएपनि अझैसम्म उनीहरुको माग पूरा हुन सकेको छैन ।

सरोकारवाला निकायले ध्यान नदिँदा लगानी गर्नेले ढुक्कसँग लगानी गर्न सकेका छैनन् । काम गर्ने मजदुरले पनि फुर्सदको बेला ढुङ्गा निकाल्ने गरेका स्थानीय राजेन्द्र कँडेलले बताए ।

बजारमा यसको माग धेरे भएपनि मागअनुसार पुर्याउन नसकिएको र आफूले लगानी गर्न पनि नसकेको कँडेलको भनाइ छ । यो पाकिस्तानी मार्बलभन्दा राम्रो र गुणस्तरीय छ तर उपयुक्त प्रविधि नहुँदा समस्या परेको छ ।

सामान्य तरिकाले काटेको ढुङ्गामा आधुनिक तरिकाबाट विभिन्न डिजाइनका बुट्टा निकाल्न सकिए स्थानीय उत्पादनले बजार पाउने र यसले पाकिस्तानी मार्बललाई समेत पछि पार्ने प्रयोगकर्ता केशव गिरीको भनाइ छ ।

भारतबाट महँगो मूल्य तिरेर राजस्तानी मार्बल ल्याउनाको सट्टा गाउँमै भएका यस्ता ढुङ्गालाई प्रवर्द्धन गर्न सकिए सस्तो मूल्यमा गुणस्तरयुक्त उत्पादन दिन सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us