
नेपालगन्ज, १४ माघ – यस जिल्लाको नदीपारिका केही गाविसका किसान भारतीय बजारमा दूध निर्यात गर्न बाध्य भएका छन् ।
नेपालगन्ज बजारसम्म सहज यातायातको सुविधा नभएका कारण जिल्लाको राप्ती नदीपारिका केही गाविसमा उत्पादित दूध सीमापारि भारतीय बजारमा निर्यात हुने गरेको विडम्बनापूर्ण अवस्था सिर्जना भएको किसानहरु बताउँछन् ।
राप्ती पारिका बैजापुर, काँलाफाटा, लक्ष्मणपुर, गङ्गापुर, बिनौना, मटहैया, कटकुइया र नरैनापुर गाविसका किसान भारतीय बजारमा दैनिक एक हजार लिटर दूध बिक्री गर्न बाध्य भएका छन् ।
‘यातायातको सहज पहुँच नभएका कारण कृषकले भारतीय बजारमा दूध बिक्री गर्नु परेको हो’– कृषक अवधराम यादवको दुःखेसो छ ।
जिल्ला पशुसेवा कार्यालयका अनुसार, नेपालगन्जमा आवश्यक पर्ने दैनिक करिब २० हजार लिटर दूधमध्ये हाल करिब १५ हजार लिटर मात्र उपलब्ध गराउन सकिएको छ ।