सहस्राब्दी विकास लक्ष्यलाई प्राथमिकता दिन सुझाव

काठमाण्डु टुडे २०७० माघ १३ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, १३ माघ – नेपालको स्वास्थ्य सेवालाई आगामी दिन थप प्रभावकारी बनाउने र सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिन स्वास्थ्य क्षेत्रमा आर्थिक एवम् प्राविधिक सहयोग दिँदैआएका दातृ निकायहरुले सुझाव दिएका छन् ।

स्वास्थ्य अधिकारमाथि ग्रामीण जनताको पहुँच अझै नपुगेको भन्दै दातृ निकायका प्रतिनिधिहरुले स्वास्थ्य सेवालाई सुदृढ बनाउन आगामी दिन आफूहरुले थप आर्थिक एवम् प्राविधिक सहयोग गर्ने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेका दातृ निकायहरुको सोमबारदेखि राजधानीमा सुरु भएको तीनदिने संयुक्त बैठकमा दातृ निकायका प्रमुखहरुले स्वास्थ्यसम्बन्धी सहस्राब्दी विकास लक्ष्य हासिल गर्न स्वास्थ्यका कार्यक्रमको कार्यान्वयन अरु प्रभावकारी बनाउन सुझाव दिए ।

सुरक्षित मातृत्व, आमा सुरक्षा कार्यक्रम, प्रजनन् स्वास्थ्यजस्ता कार्यक्रम सफलतातर्फ उन्मुख भए पनि क्षयरोग, एचआइभी÷एड्स, कुष्ठरोग र खोप कार्यक्रममा चुनौती रहेको बताइयो । बैठक हुनुपूर्व मन्त्रालय र दातृ निकायका उच्च प्रतिनिधिहरुले मन्त्रालयद्वारा सञ्चालन भएका स्वास्थ्य सेवाबारे स्थलगत रुपमा अध्ययन गर्ने परम्परा रहेको छ ।

इलाम, झापा, सुर्खेत र दैलेखमा यसपटक अनुगमन गर्ने काम भएको थियो । दातृ निकायका स्वास्थ्यसम्बन्धी बजेट र कार्यक्रम एकद्वार प्रणालीद्वारा मन्त्रालयलाई सहयोग पु¥याउन सन् २००४ दातृ निकायको एक मञ्च स्थापना भएको थियो । सोही वर्षदेखि यो मञ्च र मन्त्रालयबीच संयुक्त बैठक हुँदै आएको छ ।

दातृ निकायहरुमा विश्व स्वास्थ्य सङ्गठन, बेलायती वैदेशिक सहयोग नियोग, जापानी सहयोग नियोग, अमेरिकी सहयोग नियोगलगायतका छन् ।
हाल मञ्चको अध्यक्षता सान्दा स्टिमिरले गर्दै छन् । अमेरिकी सहयोग नियोगका प्रमुखसमेत रहेका सान्दा स्टिमिरले मन्त्रालयद्वारा सञ्चालित स्वास्थ्य सेवाका कार्यक्रम राम्रो भएको तर त्यसमा ग्रामीण जनताको सहज पहुँच नभएको बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले बैठकको उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा लगानीअनुरुप प्रतिफल नदेखिएको हो कि भन्ने टीकाटिप्पणी उठ्ने गरेको सन्दर्भमा मन्त्रालय थप जिम्मेवार बन्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले ग्रामीण तहमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन मन्त्रालयले उच्च प्राथमिकता दिँदै आएको बताए । बैठकमा समग्र स्वास्थ्य सेवाको स्थितिबारे समीक्षा गरिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us