सहमतीय सरकार बनाउन काँग्रेस–एमाले सहमत

काठमाण्डु टुडे २०७० माघ १३ गते ९:२५ मा प्रकाशित

NC-Flagकाठमाण्डु, १३ माघ – संविधानसभाको पहिलो ठूलो दल नेपाली काँग्रेस र नेकपा एमाले सहमतिको सरकार गठन गर्न सहमत भएका छन् । राष्ट्रपति रामवरण यादवले एक साताभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरेपछि सोमबार भएको दुई ठूला दलको बैठकमा नेताहरुबीच यस्ताे सहमति भएको हो ।

दुबै दल एक वर्षभित्र संविधान निर्माण गर्ने गरी सहमतीय सरकार गठन गर्न सहमत भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले बताए ।

व्यवस्थापिका संसद बैठक सकिएलगत्तै संविधानसभा भवन नयाँबानेश्वरमा भएको छलफलमा काँग्रेसले पार्टी सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ ।

जवाफमा एमालेले सहमतिय सरकारको नेतृत्व गर्ने औपचारिक पत्र मागेको नेता भरतमोहन अधिकारीले जानकारी दिए । सो अवसरमा आगामी बैशाखमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमासमेत छलफल भएको थियो ।

 काँग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले सरकार गठनको लागि सोमबारबाट औपचारिक, अनौपचारिक छलफल शुरु भएको बताए । सबैभन्दा ठूलो दलको हैसियतले सबै दललाई मिलाएर अघि बढ्ने उनको भनाइ छ ।

आफ्नै नेतृत्वमा सरकार गठनको पहल शुरु गरेका काँग्रेस सभापति सुशील कोइरालाले दोस्रो ठूलो दल एमाले, तेस्रो दल एमाओवादी र अन्य साना दललाई समेत समेट्न प्रस्ताव तयार पार्ने चुनौति छ । कोइरालालाई आफ्नै पार्टीभित्रका असन्तुष्ट नेताहरुको चित्त बुझाउन पनि गाह्रो देखिएको छ ।

कोइरालाले यसअघि आफूलाई संसदीय दलको नेता बनाएर सरकारको नेतृत्व गर्न दिए बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पक्षका धेरै नेताहरुलाई सरकारमा सहभागी गराउने आश्वासन दिएका थिए । त्यसैले पनि आफ्नै पार्टी भित्रका नेताहरुको चित्त बुझाउने चुनौति कोइरालामा छ ।

राजनीतिक दलहरु सरकार गठनको विषयमा अझै पनि आ–आफ्नै अडानमा कायमै रहेकाले राष्ट्रपतिले दिएको एक साता भित्र सहमतिको सरकार बन्ने सम्भावना कम देखिएको छ ।

दलहरुले सहमतिको लागि थप समय मागे राष्ट्रपतिले केही दिन मौका दिने र त्यो मौकामा पनि सहमति नजुटे बहुमतीय प्रक्रियाबाट सरकार गठन हुने अन्तरिम संविधानको धारा ३८ को उपधारा (२)मा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us