उपभोक्ताका लागि साढे पाँच लाख लगानी

काठमाण्डु टुडे २०७० माघ १३ गते २:१८ मा प्रकाशित

बाबियाचौर, १३ माघ–म्याग्दीको घतान गाविसमा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्ताको आयआर्जन वृद्धिका लागि साढे पाँच लाख रुपैयाँ लगानी गरेको छ । घतान गाविसको ४ देखि ९ नम्बर वडाका ५३५ घरधुरी उपभोक्ता रहेको समूहले विपन्न समुदायलाई आयआर्जनमा संलग्न गराई उनीहरुको आर्थिकस्तर सुधार गर्ने उद्देश्यले घुम्ती कोषमार्फत रकम परिचालन गरेको हो ।

बाख्रापालन, कुखुरापालन, तरकारीखेती र बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्यले सहुलियत व्याजदरमा ६० घरधुरी उपभोक्तालाई पाँच लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराइएको समूहका सचिव राम्जी सुवेदीले जानकारी दिनुभयो । चालीस हेक्टर क्षेत्रफलमा रहेको सो सामुदायिक वनले वनपैदावार बिक्री गरेर भएको आम्दानी सामाजिक तथा विकास निर्माणका काममा पनि लगानी गरेको छ ।

२०६९ साल असार महिनादेखि राष्ट्रिय मावि नेप्टेचौरका एकजना मावितहका शिक्षकका लागि मासिक १५ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको समूहले यसै वर्ष खेलमैदान निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको सचिव सुवेदीले जानकारी दिए ।

यसै वर्ष मात्र घतान काउलेगौंडामा बालशिक्षाको भवन निर्माण गर्न ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको समूहले ४० हजार १७५ रुपैयाँ लगानी गरेर गलेश्वरस्थित कालीगण्डकी किनारमा समाधिस्थल र ७२ हजार रुपैयाँ लगानी गरी चौतारीसमेत निर्माण गरेको छ । समूहले यो वर्ष घतान उपस्वास्थ्यचौकीमा प्रसूति सेवा सञ्चालनका लागि पनि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us