दैनिक १० लाखभन्दा बढीको सामान तस्करी

काठमाण्डु टुडे २०७० माघ ११ गते ८:११ मा प्रकाशित

महोत्तरी, ११ माघ– महोत्तरी जिल्लाको विभिन्न भारतीय सीमा नाकाबाट अहिले दैनिक १० लाखभन्दा बढी मूल्यका दैनिक उपभोगका सरसामान तस्करी हुने गरेको छ ।

जिल्लाको मटिहानी, पर्सापतैली, मसुरपट्टी, सुरियाही, नैन्ही, मरुवाही, बथनाहा, कट्टीकटैया, सम्सी, रघुनाथपुर, खैरबनीलगायतका नाकाबाट दैनिक १० लाखभन्दा बढीको सामान तस्करी हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइने गरेका त्यस्ता सामान ओसार्दा कसैले रोकछेक गर्दैन । राति अबेर र एकाबिहानै तस्करहरुले बढी मात्रामा सामान नेपाल ल्याउने गरेका छन् ।

सीमावर्ती स्थानीयवासीका अनुसार जिल्लामा रहेका नेपाल प्रहरीका विभिन्न सीमाचौकी र घुमुवा प्रहरी तथा सशस्त्रका सीमा सुरक्षा चौकी, बेस क्याम्प र घुमुवाहरुको मिलेमतोमा दैनिक लाखौंको सरसामान भारतबाट नेपाल तस्करी हुने गरेको छ ।

जिल्लाका सीमा चौकीका प्रहरीहरु र घुमुवाहरुले मोटै रकम लिएर केही तस्करलाई दैनिक कारोबार गराइरहेको आरोप सीमावर्ती गाउँका बासिन्दाले लगाएका छन् ।

उनीहरुका अनुसार रातिराति प्रहरीका घुमुवाहरु तथा पोसाकमै पनि प्रहरीहरु गाउँका सुनसान बाटोमा घुमिरहेका देखिन्छन् भने उनीहरुसँगै तस्करहरु पनि विभिन्न सवारी साधनमा मालसामान बोकेर हतारहतार आफ्ना गन्तव्यतिर गइरहेका देखिन्छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us