त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सडक अवरोध

काठमाण्डु टुडे २०७० माघ १० गते १४:५३ मा प्रकाशित

नुवाकोट, १० माघ– कहिले ६० त कहिले ९० मेगावाटको विवादमा फसेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनासँग स्थानीयवासीले दशबुँदे माग राखी पूरा नभए काम रोक्ने चेतावनी दिएका छन् ।

स्थानीयवासीले माग पूरा गराउन पहिलो चरणमा आयोजनास्थल जाने सडकमा आजदेखि अवरोध सुरु गरेका छन् । मनकामना गाविस ६, ७, ८ र ९ का आयोजना प्रभावित बासिन्दाले आजदेखि  वेत्रावती मैलुङ सडकस्थित शान्तिबजारको सडकमा ढुङ्गा थुपारेका  छन् ।

आयोजनाले प्रसारण लाइनका लागि गरेको आंशिक जग्गा अधिग्रहण नभई पूरा अधिग्रहण गर्नुपर्ने, स्थानीयवासीलाई योग्यताअनुसारको रोजगारी, एम्बुलेन्स सेवा र अस्पताल निर्माण तत्काल हुनुपर्ने, शान्तिबजार क्षेत्रमा नाली निर्माण तथा पुराना सडक मर्मतलगायत माग उनीहरुले राखेका छन् ।

प्रसारण लाइनका लागि प्रतिरोपनी रु आठ लाख ५० हजार मूल्य कायम राखी अधिग्रहण गरिएको जग्गाको दश प्रतिशत मात्र क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था रहेको आयोजना प्रमुख उत्तम अमात्यले बताउनुभयो ।

अधिग्रहण गरिएको तारमुनिको जग्गा जग्गाधनी स्वयम्ले नै प्रयोग गर्न पाउने भएकाले क्षतिपूर्ति दर कम राखेकामा स्थानीयवासीले भने जग्गाको पूरा क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । स्थानीयवासीले सडक अवरोध गरे पनि सुरुङ मार्गभित्रको निर्माणसम्बधी काम भने भइरहेको आयोजनाले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us