किसान झुक्याउँदै उखु मिल

काठमाण्डु टुडे २०७० माघ १० गते १०:५६ मा प्रकाशित

रौतहट, १० माघ– रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले उखु तौल गर्दा किसानलाई ठगी गरेको भन्दै कृषकहरू आन्दोलनमा उत्रिएका छन् ।

कृषकहरूले गत महिनादेखि नै उखुको तौलमा कमी हुँदै आएको गुनासो गर्दै आएका थिए । विहीबार विहान सर्लाही जिल्ला मानपुर गाविस ४ का किसान सुरेन्द्र यादवले तौलमा कम भएको शंका लागि चेकजाँच गर्दा एक टायर गाडामा दुई क्विन्टल १५ किलो तौल कम पाइएकाले मिल्सले किसानलाई ठग्दै आएको रहस्य खुलेको हो ।

सयौं किसानले मिल्सलाई उखु दिइसकेको अवस्थामा सञ्चालन भएकै दिनदेखि सबै किसानलाई २.१५ क्विन्टलको दरले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै किसानले मिल्सलाई उखु दिएका छैनन् ।

करिब चार लाख क्विन्टल उखु क्रसिङ भइसकेको र अरु करिब २० लाख क्विन्टल उखु खेतमा रहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष जयनाथ यादवले बताए । यादवले मिल्स व्यवस्थापन पक्षबाट किसानलाई ठग्ने काम भइरहेको प्रमाण फेला परेको बताउँदै मिल्स सञ्चालन भएदेखि कै क्षतिपूर्ति नदिए किसानले मिल्सलाई उखु नदिने बताए ।

टायरगाडा, ट्र्याक्टर र ट्रकमा सरदर दुईदेखि १० क्विन्टलसम्म कम तौल गर्ने गरेको आरोप यादवले लगाए । करिब एकसय ट्रक, दुईसय भन्दा बढी ट्र्याक्टर र करिब पाँच टायर गाडामा लोड गरेको उखु मिल्स परिसरमा राखेर अहिले किसानले आन्दोलन थालेका हुन् ।

श्रीराम सुगर मिल्सका महाप्रबन्धक अशोक सिंहले नापतौल गर्ने मेसिनमा कहिलेकाँही खियाले गर्दा तौल गर्ने काँटामा खराबी आउने गरेको बताए । मिल्सले गल्ती नगरेकाले किसानलाई क्षतिपूर्ति दिने सवाल नआउने उनको भनाइ थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us