एमालेको चुनावी खर्च ६ करोड !

काठमाण्डु टुडे २०७० पुष २८ गते १६:२० मा प्रकाशित

संविधानसभा निर्वाचनबा‍ट‍ दोस्रो ठूलो दल बनेको नेकपा एमालेले चुनावमा पार्टीको तर्फबाट साढे ६ करोड रुपैयाँ मात्र खर्च भएको जनाएको छ।

मुख्य दलहरुका एउटै उम्मेद्वारले करोडको हाराहारीमा खर्च गरेको चर्चा चलिरहेका बेला एमालेको आर्थिक विभागले पार्टीलाई बुझाएको प्रतिवेदनमा चन्दाबाट प्राप्त उक्त रकम चुनावमा खर्च भएको उल्लेख छ।

सो पार्टीका एक जना नेताले अरु मुख्य दलहरुको तुलनामा एमालेको चुनावी खर्च मध्यम खालको भएको दावी गरे।

खर्च

नेकपा एमालेले चुनावी खर्चका लागि रसिदमार्फत सिधै र तीन वटा बैङ्कमा खाता खोली चन्दा संकलन गरेको थियो।

त्यसरी आर्थिक सहयोग जुटाएको उक्त दलका आर्थिक विभाग प्रमुख भरतमोहन अधिकारीले प्रत्यक्ष भनिने पहिलो हुनेले जित्ने २४० क्षेत्रका उम्मेदवारलाई जनही एक-एक लाख रुपैयाँ मात्र दिएको बताए।

उनले भने, ”६ करोड रुपैयाँ खर्च भएको छ। सबै पहिलो हुनेले जित्ने उम्मेद्वारलाई जनही एक एक लाख रुपैयाँ दियौं, महिला तथा दलित उम्मेदवारलाई थप एक एक लाख दियौं।”

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ९१ सीट जितेको एमालेका नेताहरुले अरु मुख्य दलहरुको तुलनामा आफ्नो पार्टीको चुनावी अभियान भडकिलो नभएकोले खर्च पनि कम भएको तर्क गरेका छन्।

अराजकता

कतिपय नेताहरुले व्यक्तिगत रुपमा चन्दा संकलन गरेको र आर्थिक अराजकता देखिएको नेता अधिकारीले पार्टीमा बुझाएको प्रतिवेदनमा उल्लेख गरेका छन्।

उनले भने, ”धेरै अराजकता देखियो, यस्तै स्थिति रहे जनप्रतिनिधिले चुनाव जित्ने अवस्था रहँदैन।”

उनको यो भनाइले पनि उनी आफैले पेश गरेको हिसाब यथार्थमा आधारित नरहेको कतिपयको भनाइ छ।

त्यसैले पनि हुनसक्छ, नेता अधिकारीको प्रतिवेदनमा भविष्यमा पार्टीको चन्दा संकलनलाई व्यवस्थित पार्न नसके संगठन र आर्थिक अनुशासनमा असर पुर्‍याउनेतर्फ पार्टी नेतृत्वलाई सचेत समेत गराइएको छ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिदेखि ३५ दिनभित्र दलहरुले चुनावी खर्च आयोगको काठमाण्डुस्थित केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ। BBC Nepali Service

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us