उधारोमा बन्यो ग्रामीण कृषि सडक

काठमाण्डु टुडे २०७० पुष १३ गते २:०१ मा प्रकाशित

जुम्ला, १३ पुस – जुम्लाको पटमारा गाविसको उर्थुचौतारादेखि बुम्रमाडीचौर खारा हुँदै मुगुसम्म पुग्ने कृषि ग्रामीण सडक उधारोमा निर्माण गरिएको छ । बुम्रमाडीचौर गाविसस्तरीय सडक निर्माण समितिले सवा एक करोड रुपैयाँको लगानीमा उधारोमा सडक निर्माण गरेको हो ।

झन्डै २२ किमि सडक एक वर्षअघि निर्माण भइसक्दा पनि सडक खन्न प्रयोग गरिएको डोजरलाई अहिले पनि ३७ लाख ५० हजार दिन बाँकी रहेको सडक निर्माण समितिका अध्यक्ष वृषबहादुर कठायतले बताए ।

सो सडक जिल्ला विकास समितिको क्रमागत योजनामा परेको भनिए पनि समुदायको सहयोगमा छिटो सम्पन्न भएको भन्दै अध्यक्ष कठायतले त्यसमा जिल्ला विकास समितिले उल्लेख्य सहयोग नगरेको आरोप लगाए ।

यसअघि जिल्ला विकास समितिले प्रत्येक वर्ष सो सडकका लागि २० लाख वजेट विनियोजन गर्ने भने पनि त्यो भनाइमा मात्र सीमित रहेको उनको आरोप छ । बुम्रमाडीचौरका स्थानीय दलबहादुर बुढाले सो सडक निर्माणका लागि गाविसले २४ लाख हालेको बताए । जिविसले सडकमा पैसा हाल्नुभन्दा आएको रकम नै फ्रिज गराएर पठाएको उनको आरोप छ ।

यता, निमित्त जिल्ला विकास अधिकारी राजेन्द्रप्रसाद पौडेलले मन्त्रालयबाट निश्चित आयोजनाको लागि तोकिएको रकम अन्य क्षेत्रमा खर्च गर्न नमिल्ने बताए । तर आउँदा दिनमा सो सडक निर्माणका लागि विशेष पहल गर्ने उनको आश्वासन छ । अध्यक्ष कठायतले भने डोजर साहुले पैसाको लागि बारम्बार दबाब दिँदा समितिले आर्थिक सहयोगका लागि गुहार माग्दै हिँड्नु परेको गुनासो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us