१३ औं योजनाको अन्त्यसम्ममा ८७ प्रतिशत जनतामा ऊर्जाको पहुँच पुर्‍याइने

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:१६ मा प्रकाशित

Rabindra shakyaकाठमाण्डु, १२ पुस– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यले ऊर्जा विकासको मूल आधार भएकाले १३ औं योजनाको अन्त्यसम्म ८७ प्रतिशत जनतालाई ऊर्जाको पहुँच पुर्‍याउने लक्ष्य राखिएको बताएका छन् ।

काठमाण्डुमा भएको कार्यक्रममा उनले ऊर्जामा सर्वव्यापी पहुँच, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतालाई बढाउनुपर्ने राष्ट्र सङ्घको घोषणा भएकाले धेरै जनतामा ऊर्जाको पहुँच पुर्‍याउने उनले बताए ।

नेपाललाई अति कम विकसित राष्ट्रको सूचीबाट सन् २०२२ सम्म विकासोन्मुख राष्ट्र बनाउन  पनि ऊर्जा विकासले सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा मुख्यसचिव लीलामणि पौड्यालले ऊर्जाको पहुँचको कारण धनी र गरिब देशको विभेद मात्र नभई देशभित्रै पनि गाउँ र सहरबीचको खाडल बढ्दै गएको अवस्थामा  जनतामा ऊर्जाको सेवा विस्तार गर्न आवश्यक रहेको बताए ।

सहरका जनतालाई सरकारले घरमै विद्युत् जडान गरिदिने गरेको तर गाउँका जनतालाई ऊर्जाको सुविधा पुर्‍याउन सरकार गम्भीर नभएको उल्लेख गर्दै उनले बलियो नियमन संयन्त्र तयार नभएसम्म इन्धन तथा विद्युत्जस्ता ऊर्जालाई निजी क्षेत्रमा हस्तान्तरण गर्न नसकिने स्पष्ट पारे ।

ऊर्जासचिव विश्वप्रकाश पण्डितले जनतालाई ऊर्जाको पहुँच पुर्‍याउन जलविद्युत् आयोजना तथा नवीकरणीय ऊर्जा प्रविधिको विकास गर्नुपर्ने र ग्रामीण जनतालाई दिगो ऊर्जा सेवाको पहुँचमा लैजान सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए ।

उद्योगसचिव कृष्ण ज्ञवालीले मागअनुसार विद्युत आपूर्ति हुन नसक्दा परम्परागत ऊर्जा र आयातीत इन्धनमा निर्भर रहनुपरेको र यसले वातावरण प्रदूषणको समस्या एवम् ठूलो धनराशि बिदेसिएकाले ऊर्जामा आत्मनिर्भर हुन नसकेसम्म देशको विकास प्रयास सफल नहुने जिकिर गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us