माथिल्लो मादी जलविद्युत् आयोजनाको २५ प्रतिशत काम पूरा

काठमाण्डु टुडे २०७० पुष १२ गते १२:०६ मा प्रकाशित

पोखरा, १२ पुस– कास्कीको सिल्दुजुरे गाविस वडा नं ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको हालसम्म २५ प्रतिशत निर्माण कार्य सकिएको छ ।

मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको निर्माण कार्य २०७१ चैतभित्र पूरा गरिने आयोजनाका कोअर्डिनेटर रामराज कोइरालाले बताए ।

मङ्सिर मसान्तसम्म एक किलोमिटर सुरुङ खन्ने काम सकिएको छ भने विद्युत् गृह, टनेल बनाउने, वर्षाको समयमा पैरोले क्षतिग्रस्त बाटो मर्मत गरिँदै छ ।

पाँच अर्ब २८ करोड लागतमा बन्ने आयोजना स्वदेशी तथा वैदेशिक सहयोगमा बन्न लागेको हो । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशतको सहयोगमा गत वर्षको पुस महिनाबाट आयोजना सुरु गरिएको हो ।

आयोजनाको निर्माण कार्यको लागि चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ब्यूरो– १० चेन्डु चाइनालाई कन्ट्रयाकको अवधारणाअनुसार सम्झौता गरी आयोजना निर्माणको जिम्मा दिइएको छ ।

आयोजनाका लागि पानी फर्काउने बाँध सिल्दुजुरे गाविस वडा नं ४ र नागार्जुन गाविस वडा नं ८ को सिमाना चालुमा पर्छ । यो बाँधको आवश्यक संरचना तयार गरी त्यहाँबाट चार हजार २०० मिटर लामो सुरुङ निर्माण गरी सिल्दुजुरे गाविस वडा नं ९ डाँडाबारीमा पानी खसालिने छ ।

आयोजनाको निर्माणबाट यस क्षेत्रका ५० हजार बासिन्दा प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us