
कीर्तिपुर, १० पुस – काठमाण्डुको पश्चिमभेगस्थित सतुङ्गल, दहचोक, वाडभञ्ज्याङ लगायतका क्षेत्रमा च्याउखेती फस्टाउँदै गएको छ ।
बजारमा च्याउको माग दिनप्रतिदिन बढ्दै जान थालेपछि यस क्षेत्रका कृषकले च्याउखेतीलाई आय आर्जनको माध्यमका रुपमा उपयोग गर्ने गरेका हुन् ।
मागअनुसार च्याउ उपलब्ध गराउन कृषकलाई धौधौ परिरहेको स्थानीय कृषक टीकाराम बस्नेतले बताए ।
उनका अनुसार सो क्षेत्रमा उत्पादित च्याउ काठमाण्डुको प्रमुख तरकारी बजार कालीमाटी, बल्खु तथा भक्तपुर र ललितपुरलगायतका स्थामा पुग्ने गरेको छ ।
जाडो याममा तरकारीका साथै च्याउको सुप निकै उपयोगी हुने भएका कारण यो समयमा च्याउको धेरै माग हुने उनले बताए ।
काठमाण्डुको पश्चिमभेगमा उत्पादित च्याउ पछिल्लो समयमा फार्मबाटै बिक्री हुनुले पनि आफूहरू च्याउखेतीतर्फ आकर्षित भएको कृषकहरू बताउँछन् ।
लगानीअनुसार च्याउखेतीमा आम्दानी राम्रो हुने भएका कारण कृषकको रोजाइ च्याउखेती बनेको कृषक बस्नेतको भनाइ छ । उनले च्याउको प्रकृतिअनुसार २०० देखि ४०० सम्म प्रतिकिलो फार्मबाटै बिक्री हुने गरेको बताए ।