
चितवन, ९ पुस – संघीय मामिला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले ग्रामीण क्षेत्रको विकासका योजनालाई सरकारले प्राथमिकता दिने बताएका छन् ।
पश्चिम चितवनको जगतपुरमा बनेको केरुङ्गा खोलाको पुल उद्घाटन गर्दै मन्त्री मल्लिकले ग्रामीण क्षेत्रको विकास नभएसम्म देश विकास नहुने भएकाले ग्रामीण क्षेत्रको विकासका योजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
केन्द्रीय बजेट आउने कुरामात्रै ठूलो नभएको भन्दै उनले बनेका संरचनाहरुको संरक्षण गर्न स्थानीयस्तरबाट पहल हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला विकास समिति चितवनले करिब दुई करोड ६० लाख ७९ हजारको लागतमा सो पुल निर्माण गरिएको । ६६ मिटर लम्बाइको सो पुलको निर्माण कार्य दुई वर्षमा पूरा भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर जगदीश शर्माले जानकारी दिए ।
नवनिर्मित सो पुलले जगतपुरको वडा नं. १ र ४ लाई जोडेको छ ।