
काठमाण्डु, ८ पुस – अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले प्रतिदिन एक अर्ब राजस्व उठाउने सरकारको लक्ष्यमा अघि बढ्न राजस्व प्रशासनका कर्मचारीलाई निर्देशन दिएका छन् ।
ठूला करदाता कार्यालयले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री कोइरालाले पुस महिना राजस्व बढाउने पर्व हो भन्दै यसलाई भरपूर उपयोग गर्न आग्रह गरे ।
मन्त्री कोइरालाले भने, ‘सरकार जान लाग्यो भन्ने अवधारणा पालेर पेशागत धर्मलाई कमजोर नबनाउनुस्, जसको सरकार आए पनि जो मन्त्री भए पनि राजस्वले लिएको बाटो र लक्ष्य एउटै हो, जुनसुकै अर्थमन्त्रीले हेर्ने भनेको अक्षर हैन, अङ्क हो ।’
सोही अवसरमा अर्थसचिव शान्तराज सुवेदीले अर्थ मन्त्रालयअन्तर्गत निकायको कार्यसम्पादन कमजोर बन्दै गएको बताउँदै अबका दिनमा कर्मचारीले अङ्कमा पु¥याउने योगदानलाई कार्यसम्पादनको आधार बनाइने स्पष्ट पारे ।
उनले बहुराष्ट्रिय कम्पनीलाई पारदर्शी ढङ्गबाट करको दायरामा ल्याउनका लागि विशेष पहल थाल्न पनि आग्रह गरेका छन् ।
अर्थ मन्त्रालय राजस्व प्रशासन महाशाखा प्रमुख राजन खनालले सम्पूर्ण राजस्वको आधा उठाउने दायित्व बोकेको निकायले तोकिएको कर उठाउन सक्ने या नसक्ने प्रस्टसँंग धारणा राख्नुपर्छ भन्दै यस्ता संवेदनशील निकायमा उत्कृष्ट कर्मचारीको छनोट गर्नुपर्नेमा जोड दिए ।
आन्तरिक राजस्व विभागका महानिर्देशक टङ्कमणि शर्माले राजस्व प्रशासनमा जनशक्ति थप्नेभन्दा पनि सरल प्रविधिमार्पmत कामलाई छिटोछरितो र पारदर्शी बनाउन विभाग लागिपरेको जानकारी दिए ।