पुस महिनाभित्र विवरण बुझाउने व्यवसायीलाई छुट

काठमाण्डु टुडे २०७० पुष ८ गते ११:३१ मा प्रकाशित

चितवन, ८ पुस – आन्तरिक राजस्व कार्यालय चितवनले पुस महिनाभित्र विवरण बुझाउने व्यवसायीलाई छुटको व्यवस्था गरेको छ । विभिन्न कारणले व्यवसाय दर्ता नगरेका, नवीकरण नगरेका, तथा कर नबुझाएका व्यवसायीका लागि यो महिनाभर बुझाएमा छुट दिने कार्यालयका प्रमुख कर अधिकृत प्रेम उपाध्यायले जानकारी दिए ।
व्यवसाय कर, सेवा शुल्क, आयकर, अधिक कर सबैमा राजस्व बाहेक जरिवाना तथा ब्याजमा छुटको व्यवस्था मिलाइएकाले अवसर नगुमाउन उनले व्यवसायीलाई आग्रह समेत गरेका छन् ।
यसअघि भने छुटको व्यवस्था गरिएको थिएन । पुस सकिएपछि बजार अनुगमन गर्ने र त्यसमा नियमविपरीत पाइए कडा कारबाही हुने उपाध्यायको भनाई छ ।
हालसम्म मूल्य अधिक करसँग सम्बन्धित चार हजार ६ सय ४५ र आयकर अन्र्तगत २८ हजार ६ सय ४१ व्यवसाय आन्तरिक राजस्व कार्यालयमा दर्ता भइसकेका छन् । दुई लाखसम्मको कारोबारको आयकर नलाग्ने र तीन लाखसम्मको १५ प्रतिशत तथा तीन लाख भन्दा बढीको कारोबारमा २५ प्रतिशत आयकर लाग्ने कार्यालयले जनाएको छ ।
अधिक कर भने १३ प्रतिशत लाग्ने छ । गएको वर्ष जिल्लामा उत्कृष्ट कार्यालयको प्रशंसापत्र पाइएको कार्यालयले यस वर्ष पनि आफ्नो कामलाई चुस्त पार्दै राजस्व सङ्कलनमा वृद्धि गर्दै लगेको उपाध्यायले बताए ।
उनका अनुसार यस आवमा कुल आठ अर्ब २६ करोडको लक्ष्य रहेकोमा पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । यो १०२.८४ प्रतिशत हो । पहिलो चौमासिकसम्ममा रु दुई अर्ब ४७ करोडको लक्ष्य रहेकामा रु दुई अर्ब ५४ करोड राजस्व सङ्कलन भएको प्रमुख उपाध्यायले जानकारी दिए ।
लक्ष्यभन्दा सात करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयले जनाएको छ । कार्यालय अन्तःशुल्कबाट सबैभन्दा बढी छ करोडले बढाएर दुई अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ । यो क्रमलाई निरन्तरता दिन कार्यालय सक्रिय भएको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us