
बैंकक ७ पुस– सरकारी विरोधी प्रदर्शनमा लागेका एक समूहले आइतबार थाइल्यान्डको राजधानी बैंककमा अवस्थित प्रधानमन्त्री यिङ्लक सिनावात्राको निवासलाई घेराबन्दी गरेको समाचार छ ।
आइतबार योजना गरिएको यस जुलुस प्रदर्शनको नेतृत्व पूर्व उप प्रधानमन्त्री सुथोप थाउङ्सुवानले नेतृत्व गरेका थिए । सो समूहले यिङ्लकलाई काम चलाउ सरकार अर्थात् अर्को निर्वाचन सम्पन्न नभएसम्मको लागि गठित सरकारबाट राजिनामा दिनको लागि दबाब दिनको आन्दोलन जारी राखेका छन् ।
यिङ्लक हाल राजधानी बैंकक बाहिर रहेकी छन् । तर प्रदर्शनकारीहरूले भने ‘बैंकक स्टेडियम’ पनि घेराबन्दी गर्ने योजना गरिरहेका जनाइएको छ । थाइल्याण्डको प्रमुख बिपक्षी दलले डेमोक्र्याट पार्टी आगामी फेबु्रअरी महिनामा हुन गइरहेको आम निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सिनावात्रालाई राजिनामा गर्न बाध्यपार्न आन्दोलन जारी नै राखेको सो दलले जानकारी दिएको छ । सरकारले एकतर्फी रुपमा निर्वाचन घोषणा गरेको हुनाले सो निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको डेमोक्र्याट पार्टीले बताएको छ ।
राजधानी बैंककमा शनिबार बसेको सो दलको बैठकले उक्त निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ । सोही दलको नेतृत्वमा बैंककमा हाल आन्दोलन जारी रहेको हो । उक्त अभियानमा अरु दलहरू पनि रहेका छन् ।
डमोक्र्याटिक पार्टीका नेता अर्थात पूर्ब प्रधानमन्त्री अभिजित भिजाजिभाले आगामी निर्वाचन बहिस्कार गर्ने र सो निर्वाचनमा आफूहरूको पूरा रुपमा असहमति रहेको निर्णय गरेका थिए । प्रधानमन्त्री यिङलक सिनावात्राको राजिनामाकोलागि आफ्नो दलले आन्दोलन जारी नै राख्ने पनि अभिजित बताएका छन् ।
थाइल्याण्डको संसदले आममाफीसम्बन्धी कानुन ल्याएपछि त्यसको विरोधमा विपक्षीहरूले आन्दोलन सुरु गरेका थिए । उक्त विधेयक असफल भएपछि पनि आन्दोलन जारी नै छ । प्रधानमन्त्री सिनावात्राले सबै विपक्षीहरूलाई आन्दोलन रोक्न आग्रह गर्दै आएकी छन् ।
प्रधानमन्त्री सिनावात्राले भ्रष्टाचारको मुद्दाका कारण निर्वासनमा रहेका आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई उक्त मुद्दामा आममाफी दिने र स्वदेश फर्किने सहमतिका लागि सो कानुन ल्याउन खोजेको विपक्षीहरूले आरोप लागाउर्दै आएका छन् । रासस /सिन्ह्वा/एएफपी