सुक्खाबन्दरगाहबाट ढुवानी सेवा ठप्प

काठमाण्डु टुडे २०७० पुष ७ गते ११:४८ मा प्रकाशित

Birjung Sukhkha Bandargahaवीरगन्ज पर्सा, ७ पुस– वीरगञ्ज सुक्खाबन्दरगाह ढुवानी सेवा ठप्प हुँदा करौडौंको सामान अलपत्र परेको छ ।

सरकारी निकाय यातायात व्यवस्था विभागले भार बहन क्षमता नियन्त्रण गर्नका लागि बढी भारवहन गरेका गाडीलाई रोकेपछि ढुवानी सञ्चालकहरूले ढुवानी सेवा ठप्प पारेका हुन् ।

करिब १० वर्ष पहिले सञ्चालनमा सुक्खाबन्दरगाह आएपछि तेस्रो मुलुकबाट भारतीय रेलमार्ग हुँदै यहाँ कन्टेनर भित्रिने गर्दै आइरहेको थियो ।

नेपालको विभिन्न भागमा ढुवानी गरिरहेको कन्टेनर ढुवानी व्यवसायीहरूले भारवहन क्षमता खुला गर्न माग गर्दै आइतबारदेखि सम्पूर्ण ढुवानी सेवा बन्द गरेको कन्टेनर ढुवानी व्यवसायी अम्बिका चौधरीले बताउनुभयो ।

तेस्रो मुलुकबाट आएका कन्टेनरमात्र ढुवानी गर्न प्रयोग गरिएको प्लेटफार्म गाडी अरू सामान ढुवानीमा प्रयोग नगरिएको र भारवहन क्षमता सीमित गर्दा आफ्नो व्यवसाय नै धराशायी हुने कन्टेनर सञ्चालक चौधरीले बताए ।

सरकारले नेपालमा ढुवानी गर्ने मालबाहक सवारी साधनहरू छ चक्केलाई नौ टन, १० चक्केलाई १५ टन र १२ चक्केलाई १८ टनको मात्र अनुमति दिएको र सोभन्दा बढी भार बोक्ने मालबाहक सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही थालेपछि कन्टेनर ढुवानी गर्ने व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले भने सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ठूला भारवहनका सवारी साधन सञ्चालनमा रोक लगाएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us