खुम्जुङ भ्याली:‘मिल्ने भए चोरेर लैजाउँ जस्तो’

काठमाण्डु टुडे २०७० पुष ७ गते २:२८ मा प्रकाशित

khumjung-Valleyसोलुखुम्बु, ७ पुस–सगरमाथाको प्रवेशद्वारका नामले चिनिएको नाम्चे बजारबाट थोरै तर नाकै ठोक्किने उकालो चढेपछि नेपालकै उचाइमा रहेको स्याङबोचे विमानस्थल पुगिन्छ । स्याङबोचेबाट नेपालकै एक मात्र याक विकास फार्मको अवलोकन गर्दै खुम्जुङ उपत्यका (भ्याली) पुगिन्छ ।

खुम्जुङ भ्याली, खुन्दे तथा फोर्चे पर्वतारोहीका गाउँ हुन् । सुन्दर, मनोरम अनि जोकोहीलाई मोहनी लगाउँछ खुम्जुङले । चिसो सिरेटोमा सिउसिउ गर्दै यहाँबाट देखिने हिमशृङ्खला नियाल्नुको आनन्द वर्णन गर्नै नसकिनेछ । हिउँको माला लगाएर ठाँटिएको छ खुम्जुङ । खुम्जुङ हिउँको छायाँको बर्काे ओढेर टुसुक्क बसेको छ, हेर्दै लोभलाग्दो ।

‘मिल्ने भए चोरेर आफ्नै देश लैजाउँजस्तो,’ खुम्जुङमा भेटिएका इजरायली पर्यटक पेभिएनले भने । खुम्जुङ हिउँको माला लगाएर, हिउँकै छायाँको बर्काे ओढेर टुसुक्क बसेजस्तो यहाँका युवायुवती त्यसरी बस्न पाउँदैनन् । यहाँका युवायुवतीले कयौं पटक विश्वको सर्वाेच्च शिखर सगरमाथा चढिरहनुपर्दछ । यहाँका डेढ सयभन्दा बढी युवाले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । पर्वतारोहण नै यहाँका बासिन्दाको खेतीपाती, जागिर, व्यापार हो । जीवनयापनका लागि प्रमुख आधार नै पर्वतारोहण भएकाले यहाँका अधिकांशले सगरमाथा आरोहण गर्नलाई पानीपँधेरोजस्तै मान्छन् । यहाँका बासिन्दाले पर्वतारोहणलाई जागिर वा खेतीपाती माने पनि खुम्जुङमा आलु, मूला, फापर लगायतको बाली पनि हुन्छ । तर त्यस्ता बालीभन्दा खुम्जुङेहरुको मुख्य आयस्रोत नै पर्वतारोहण हो ।Khumjung

पर्यटकको रोजाइमा परेको खुम्जुङका महिलाहरु प्रायः होटल व्यवसाय तथा पुरुषहरु चाहिँ पर्वतारोहणतिर तानिएका छन् । यहाँका अधिकांशले सगरमाथाको साथै नेपालभरिका आठ हजारभन्दा माथि उचाइ रहेका सबै शिखरको आरोहण गरिसकेका छन् । पर्वतारोही जाङबुसेराब शेर्पा भन्छन्, ‘पर्वतारोहणमा लाग्नु रहर नभएर बाध्यता हो । ज्यानै जोखिममा राखेर शिखर चढ्ने रहर कसलाई हुुन्छ र ?’ यहाँका कतिपयले पर्वतारोहणलाई पेसाका रुपमा लिँदा विश्व कीर्तिमान नै कायम गरेका छन् ।

पर्वतारोहणले गर्दा नै यहाँका शेर्पाहरु विदेशी पर्यटकको साथ लागेर अमेरिका, जापान, जर्मनी, बेलायत लगायतका देश पुगेका छन् र पनि उनीहरु खुसी भने छैनन् । पर्वतारोहीलाई सरकारले उचित सुविधा दिन नसकेको भनाइ छ यहाँका पर्वतारोहीहरुको । आठ हजारभन्दा माथिका चारवटा शिखर आरोहण गरिसकेका पर्वतारोही ङिमा शेर्पा भन्छन्, ‘नेपाल सरकारले विदेशी पर्वतारोहीलाई सम्मान र नेपालीलाई अपमान गरेको देख्दा छक्क लाग्छ ।’ सगरमाथा, पुमोरी, आमादब्लम लगायतका अग्ला हिउँचुलीको काखमा अवस्थित खुम्जुङको अर्काे विशेषता भनेको यहाँका शेर्पा जातिको अनुपम संस्कृति हो ।

वर्षैपिच्छे यहाँ आयोजना हुने ल्होसार, डुम्जी, माणिरुम्डुजस्ता पर्व पर्यटकका लागि थप आकर्षण बनेका छन् । बाटोभरि सजिएका ध्वजापताका अनि शान्ति कुँदिएका मानेढुङ्गाहरुले जोसुकैलाई एकैछिन भए पनि शान्तिको अनुभूति गराउँछ । खुम्जुङ भएर सगरमाथा आरोहण गर्न हिँडेका पर्वतारोहीको क्याराभान (लस्कर) देख्दा खुम्जुङ बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ । यहाँ अधिकांश बासिन्दा सामान्य शिक्षा लिएका वा निरक्षर पनि छन् ।

Mountains, Khumjung

खुम्जुङमा विश्वकै सबैभन्दा बढी अग्लो स्थान सगरमाथा, विश्वको सबैभन्दा अग्लो गाउँ, विश्वको सर्वाधिक उचाइमा रहेको स्याङबोचे विमानस्थल, विश्वमा सबैभन्दा उचाइमा रहेको होटल एभरेस्ट भ्यू तथा विश्वको सबैभन्दा उचाइमा रहेको गुम्बा पाङबोचे पनि रहेको छ । धेरै कुरामा उचाइ हुँदै गर्दा यहाँका अधिकांश युवायुवतीको खेती पनि त्यही उचाइसँग जुध्नु रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us