
काठमाण्डु, २ पुस– काँग्रेसले सरकार र संविधान तथा पछिल्लो समयमा उठेका राजनीतिक समस्यालाई समेत सहमतिका आधारमा सुल्झाएर अघि बढ्नुपर्ने निश्कर्ष निकालेको छ ।
अरु पार्टीले उठाएका विषयहरुको समाधान खोज्न पनि संविधानसभालाई क्रियाशील बनाउनुपर्ने र संविधान निर्माणको कामलाई प्राथमिकतामा राखेर संविधानसभाभित्रैबाटै सबै खालको समस्याको निकास खोज्नुपर्ने आवश्यकता काँग्रेसले औंल्याएको हो ।
पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा आज बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले संविधानसभाको निर्वाचनको जनादेशलाई ध्यानमा राखेर सबै समस्याको समाधान पनि जननिर्वाचित निकायबाटै खोज्नुपर्नेमा जोड दिएको हो ।
बैठकपछि काँग्रेस प्रवक्ता दिलेन्द्र बडूले भने, ‘संविधान निर्माण हाम्रो मूल कार्य हो, संविधानसभालाई क्रियाशील गर्ने कुरालाई प्राथमिकतामा राखेर अन्य पार्टीहरुले जे विषयहरु उठाउँछन् ती विषयलाई समेत संविधानसभाभित्र बसेर निक्र्यौलमा पुग्न सकिन्छ र संविधानसभाभित्रबाटै सबै विषयको समाधान खोज्नुपर्छ ।’
बैठकमा विभिन्न राजनीतिक दलसँग भएको वार्ता संवादका बारेमा वार्तामा सहभागी नेताहरुले जानकारी गराएका थिए । साथै पछिल्लो समयमा एकीकृत माओवादीलगायतका दलले निर्वाचनमा धाँधली भएको भनेर आयोग गठन गर्नुपर्ने माग राखेर समानुपातिकतर्फको नामावली समेत नबुझाउने अडान लिएकोमा उच्चस्तरीय समितिमा सहमति खोज्न तयार भएकाले सहमतितर्फ वार्ता अघि बढेको बारेमा पनि बैठकमा छलफल भएको थियो ।
बुधबार कार्य समितिको बैठक
पछिल्लो राजनीतिक अवस्था तथा भावी रणनीतिलगायतका विषयमा औपचारिक ढङ्गबाट निर्णयमा पुग्नुपर्ने भएकाले काँग्रेसले आइतबार बिहान ११ बजे केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
साथै समानुपातिकतर्फ पार्टीले बुझाउने नामावलीबारे पनि कार्यसमितिले मापदण्ड तयार गरी त्यसका आधारमा निर्णयमा पुग्ने बताइएको छ ।
प्रवक्ता बडूले समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा बुझाउने कुरामा काँग्रेसको कारण ढिलाई नभएको बताउँदै काँग्रेस नेतृत्वमा भएकाले सबै पार्टीले निर्णय गरेर एकसाथ आयोगमा जानुपर्छ भन्ने प्रयत्नमा रहेको बताए ।