
काठमाण्डु, २८ मंसिर–उत्तर कोरियाका एक बरिष्ठ नेता चाङ सोङ थाएकलाई सरकारले फाँसी दिएको छ । उनी उत्तर कोरियाली नेता किम जोङ उनका फुपाजु हुन् ।
विदेशी सन्चार माध्यमहरुमा उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नै फुपाजुलाई फाँसी दिएको समाचारले प्राथमिकता पाएको छ ।
एक समय सरकारको निकै प्रभावशाली नेता रहेका थाएकलाई राजद्रोह र भ्रष्टाचारको अभियोगमा फाँसी दिइएको उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले जनाएको छ ।
गएको हप्ता मात्रै थाएकलाई नाटकीय ढंगबाट कम्युनिष्ट पार्टीको बरिष्ठ नेताको पदबाट हटाइएको थियो । दुई बर्ष अघि किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेपछि यसलाई सबैभन्दा ठूलो राजनीतिक उथलपुथलको रुपमा लिइएको छ ।
किम जोङ उनको बुवा किम जोङ इलले सरकारको नेतृत्व गर्दा थाएकले निकै सहयोग गरेका थिए । तर, आजभोली सरकारी सन्चार माध्यमहरुले थाएकलाई ‘कुकुर भन्दा पनि खत्तम’ जस्तो गरी टिप्पणी गरेको बीबीसीले जनाएको छ ।