सरकारी कर्मचारी बढि भ्रष्टाचारी

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ४:४२ मा प्रकाशित

बर्लिन, १९ मंसिर–अफगानिस्तान, उत्तर कोरिया र सोमालिया विश्वको सबैभन्दा भ्रष्ट मुलुकको सूचीमा परेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलले सर्वेक्षणमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा डेनमार्क र न्युजिल्यान्ड सबैभन्दा सुशासन भएको मुलुकको रूपमा देखिएका छन् ।

भ्रष्टाचारको विषयमा अनुगमन गर्ने यस संस्थाले विश्वका ७० प्रतिशत मुलुकमा सरकारी कर्मचारीहरूले भ्रटाचार गर्ने गरेको र यो गम्भीर समस्या रहेको उल्लेख गरेको छ । बर्लिनमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले यस वर्ष गरेको सर्वेक्षणमा विश्वका १७७ मुलुकमध्ये कुनै पनि मुलुक पूर्ण रूपमा स्वच्छ नभएको देखिएको छ । ट्रान्सपरेन्सीको वार्षिक सूचीलाई राजनीतिक दल, प्रहरी, न्यायिक प्रणाली, सरकारी सेवामा रहेको भ्रष्टाचारको मापनको रुपमा हेरिन्छ । भ्रष्टाचारको कारण विकास हुन नसकेको र गरिबी निवारण हुन कठिन भएको बताइन्छ ।

यस अध्ययनका प्रमुख फिन हेनरिचले भ्रष्टाचारले गरिबलाई सबैभन्दा प्रभावित बनाउने बताए । सन् २०१३ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा सिरिया, लिबिया तथा माली जस्ता सशस्त्र द्वन्द्वयुक्त मुलुक तल झरेका छन् ।

यस सूचीमा सबैभन्दा तल्लो स्थानमा पर्ने मुलुकमा इराक, सिरिया, लिबिया, सुडान, दक्षिणी सुडान, चाड, इक्वेटोरियल गुएना, गुएना बिसाउ, हाइटी, तुर्कमेनिस्तान, उज्वेकिस्तान तथा यमन पनि परेका छन् ।

यस सूचीमा सबैभन्दा माथिल्लो स्थानमा पर्ने मुलुकमा डेनमार्क, न्यु जिल्यान्ड, लक्जम्बर्ग, क्यानडा, अस्ट्रेलिया, नेदरल्यान्डस्, स्विजरल्यान्ड, सिङ्गापुर, नर्वे, स्विडेन तथा फिनल्यान्ड परेका छन् । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us