जातीय सङ्घर्षमा इराकमा १८ जनाको बिभत्स हत्या

काठमाण्डु टुडे २०७० मंसिर १४ गते १३:२३ मा प्रकाशित

बग्दाद, १४ मङ्सिर–बग्दादको उत्तरी भागमा शुक्रबार सैनिक पोशाकमा आएका व्यक्तिहरूले अपहरण गरेका १८ व्यक्तिको शव केही घण्टापछि फेला परेको छ ।
यस वर्ष इराकमा छ हजारभन्दा बढी व्यक्तिको हत्या भइसकेको छ र इराक आमनिर्वाचनभन्दा केही महिना अगाडि लडाकूलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोग माग्न बाध्य भएको छ ।
शुक्रबार बिहान अधिकारीहरूले दुई आदिवासी प्रमुख, चार प्रहरी तथा एक सैनिक मेजरका साथमा १८ व्यक्तिको शव बग्दादको उत्तरी भागमा सुन्नी अरब नगर तारमियामा एक खेतमा फेला पारेका थिए ।
फेला परेका शवमा टाउको तथा छातीमा गोली हानिएको फेला परेको प्रहरी अधिकारी तथा स्वास्थ्य स्रोतले जानकारी दिएका छन् ।
अपहरणकारीहरू सैनिक पोशाकमा थिए र उनीहरूले चढेका गाडी पनि सैनिकको जस्तो देखिन्थ्यो । यी व्यक्तिलाई शुक्रबार बिहानै अपरहण गरिएको थियो ।
केही दिन अगाडि अधिकारीहरूले बग्दादको विभिन्न भागमा गोली हानी मारिएका १९ व्यक्तिको शव फेला पारेका थिए । यीमध्ये आठलाई आँखामा पट्टी बाँधेर गोली हानिएको थियो भने ६ व्यक्तिको शव नहरमा फेला परेको थियो ।
सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमा आक्रमण भएपछि सुन्नी तथा सिया लडाकूहरूले एक अर्को पक्षका व्यक्तिहरूलाई अपहरण गरी मार्ने गर्थे । त्यसरी मारिएका व्यक्तिको आँखामा पट्टी लगाइएको हुन्थ्यो र उनीहरूलाई यातना दिइएको देखिन्थ्यो ।
इराकमा शुक्रबार अन्य स्थानमा भएको आक्रमणहरूमा चार व्यक्तिको हत्या भएको छ भने पाँच घाइते भएका छन् ।
इराकमा शुक्रबारसम्म एक हप्तामा मुलुकभर करिब २०० व्यक्तिको हत्या भएको छ ।
बुधबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले इराकमा भएका हिंसाप्रति भत्र्सना गर्दै रक्तपात रोक्न सरकारको प्रयासलाई सहयोग गर्ने जानकारी दिएको थियो ।
इराकी प्रधानमन्त्री नुरी अल मलिकीले हालै वासिङटनको भ्रमण गरी गुप्तचरका सूचना आदानप्रदान गर्न तथा लडाकूलाई नियन्त्रण गर्न समयमै नयाँ हतियार उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो ।
फ्रान्स तथा टर्कीले इराकी सरकारलाई सहयोग गर्ने प्रस्ताव राखेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us