तीन सय शल्यचिकित्सक ७० वटा शोधपत्रमा तल्लिन

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १६:४३ मा प्रकाशित

काठमाण्डु,१३ मङ्सिर–दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क क्षेत्रका तीन सय शल्यचिकित्सक ७० वटा शोधपत्र माथिको छलफलमा तल्लिन भएका छन । पहिलो सार्क शल्य चिकित्सक सम्मेलन तथा शल्य चिकित्सक समाज नेपालको नवौँ राष्ट्रिय सम्मेलन उपराष्ट्रपति परमानन्द झाले बिहिवार उद्घाटन गरेका छन । उनले मुलुकको समग्र विकासका लागि स्वास्थ्य क्षेत्रको सुधारलाई उच्च प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन ।
उपराष्ट्रपति झाले सार्क मुलुकको उस्तैखाले भूगोल, जीवनशैलीका साथसाथै समान प्रकारका रोगबाट पीडित हुने गरेको उल्लेख गर्दै सम्मेलनमा यस क्षेत्रका विज्ञहरुबीच अनुभव र ज्ञानको आदानप्रदान हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा नेपालसहित सार्क मुलुक तथा इङ्गल्यान्डका ख्यातिप्राप्त शल्य चिकित्सकसहित ३०० जनाले भाग लिइरहेका छन् । सम्मेलनमा ७० भन्दाबढी शोधपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा शल्य चिकित्साका जनरल, न्युरो, कार्डियाक, प्लास्टिक सर्जरी, ग्यास्ट्रोइन्टरलोजी, मिनिमल इन्भेसिभ, न्युरोलोजी, पेडियाट्रिकसहित शल्य शिक्षा, आचारसंहिता र अन्य विषयमा प्रस्तुत हुने शोधपत्रमा छलफल हुनेछन् । देशको दुर्गम क्षेत्रमा शल्यचिकित्सा सेवा कसरी पु¥याउने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ ।
सो अवसरमा उपराष्ट्रपति झाले दक्षिण एसियाली मुलुकका विभिन्न चार विशिष्ट शल्य चिकित्सकलाई सम्मान गरेका छन । ‘आइकोन अफ सर्जरी’ उपाधिबाट सम्मानित हुनेहरूमा नेपालका वरिष्ठ चिकित्सक डा. अञ्जनीकुमार शर्मा र डा. दिनेशनाथ गङ्गोल, बङ्गलादेशका प्रो. जे. मौला चौधरी, पाकिस्तानका प्रो. अब्दुृल मजिद चौधरी छन । उनीहरुलाई चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान दिएवापत् सम्मानित गरिएको हो ।
सार्क चिकित्सक समाजका अध्यक्ष प्रो. अब्दुृल मजिद चौधरीले सम्मेलनको मुख्य उद्देश्य सार्क क्षेत्रमा शल्य चिकित्सकको विकासका लागि क्षेत्रीय सहयोगको आदानप्रदान आवश्यक रहेको बताए । उनले नेपालमा यस प्रकारको सम्मेलन हुन सकेकामा खुसी व्यक्त गरे ।
नेपाल शल्य चिकित्सक समाजका महासचिव प्रा. डा. रामेश्वर पोखरेलले शल्य चिकित्सासम्बन्धी शिक्षा, आचारसंहिता र यस क्षेत्रमा भएका नवीनतम ज्ञान र प्रविधिबारे सम्मेलनमा जानकारी दिइने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us