
काठमाण्डु, ४ मंसिर । संविधानसभा निर्वाचन–२०७० लैङ्गिक अनुगमन राष्ट्रिय समितिको तर्फबाट राष्ट्रिय महिला आयोगद्वारा मंगलबार देशभरका निर्वाचन क्षेत्रमा लैङ्गिक दृष्टिकोणबाट अनुगमन गरियो । संविधानसभा निर्वाचनको अनुगमनका क्रममा देशभरका अधिकांश मतदान केन्द्रमा महिला मतदाताको उत्साहजनक सहभागिता रहेको पाइएको आयोगले मंगलबार जनाएको छ ।
समितिका अनुसार अनुगमनका क्रममा देशभरका अधिकांश मतदान केन्द्रहरु महिलामैत्री रहेको र मतदानको क्रममा महिला सहभागिता पनि उल्लेख्य रहेको कारण निर्वाचन लैङ्गिक दृष्टिकोणले सुखद हुन पुगेको पाइयो । यद्यपि कतिपय स्थानमा भने मतदाता शिक्षाको अभाव देखिनुको साथै महिला सहभागिता तुलनात्मकरुपमा बढी भए पनि महिला सुरक्षाकर्मी र महिला कर्मचारीको अभाव रहेको पाइएको आयोगले जनाएको छ ।
राष्ट्रिय महिला आयोगको नेतृत्वमा रहेको संविधानसभा निर्वाचन लैङ्गिक अनुगमन समितिमा आवद्ध महिला अधिकारको क्षेत्रमा कार्यरत विभिन्न ३२ वटा संस्थाबाट संविधानसभा निर्वाचनमा पहिलोपटक भएको लैङ्गिक अनुगमन उपलब्धीमूलक भएको जनाउँदै आयोगले आज जारी प्रेस विज्ञप्तिमा देशभर खटिएका लैङ्गिक अनुगमनकर्ताका अनुसार अधिकांश ठाउँमा मतदान शान्तिपूर्ण र महिलामैत्री रहेको र समितिले २४० वटै निर्वाचन क्षेत्रमा सात सयभन्दा बढी अनुगमनकर्ता खटाएको उल्लेख गरेको छ ।
संविधानसभा निर्वाचनमा एक करोड २१ लाख ४७ हजार ८६५ जना मतदातामध्ये महिला मतदाता ६१ लाख ६६ हजार ८२९ जना रहेका छन् । यस निर्वाचनमा पुरुष मतदाताको तुलनामा एक लाख ८५ हजार ९४८ जना महिला मतदाता बढी छन् । यसैबीच दोलखा जिल्ला ठूलोपातल गाविसमा पूर्व सभासद् शान्ति पाख्रिनलाई आक्रमण गरिएको घटनाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा जनाइएको छ । रासस