अरुलाई जिताउने र हराउने खेलमा ‘स्वतन्त्र उम्मेदवार’

काठमाण्डु टुडे २०७० मंसिर १ गते १०:५२ मा प्रकाशित

election-voteकाठमाण्डु– आफ्नो जित निश्चित नभए पनि अन्य उम्मेदवारलाई जिताउन वा हराउनका लागि स्वतन्त्र उम्मेदवारले भूमिका खेल्न सक्ने देखिएको छ । स्वतन्त्रबाट उम्मेदवारी दिनेमध्ये केही त पार्टीबाट टिकट नपाएको असन्तोष व्यक्त गर्न र पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन वा आफ्नो हैसियतअनुसारको मत ल्याएर ‘क्षमता प्रदर्शन’ गर्न पनि प्रत्यक्षतर्फको प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा भने स्वतन्त्र उम्मेदवारी दिन पाउने कानुनी व्यवस्था छैन । स्वतन्त्र उम्मेदवारहरू आफ्नो परिचय र एजेन्डा स्थापित गर्न तथा राजनीतिप्रतिको लगाव विस्तार गर्न पनि निर्वाचनमा होमिएको पाइएको छ भने कतिपय पार्टीका केही नेताले खासखास क्षेत्रमा आफ्ना विरोधीलाई हराउने वा आफ्नो सहयोग बढाउने ध्येयले पनि स्वतन्त्र उम्मेदवारी खडा गराउने प्रवृत्ति छ ।

चन्दा सहयोग लिन उम्मेदवारी

साथै मनोनयन दिएपछि चन्दा सहयोग लिन तथा गाडीलगायतका साधनको प्रयोग गर्ने ध्याउन्नमा पनि कतिपयले उम्मेदवारी दिएका छन् । यस पटकको संविधानसभा निर्वाचनमा कुल एक हजार ११५ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यसमा एक हजार ५१ पुरुष र ६४ जना महिला छन् ।

गत निर्वाचनमा रौतहटबाट बबन सिंह र सप्तरीबाट सदरुल मियाँ हक स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए । हाल सिंह तराई मधेस लोकतान्त्रिक पार्टीमा संलग्न छन् भने हकको गत वर्ष हत्या भएको छ ।

ठूला दल र साना दलका उम्मेदवारको भीडमा स्वतन्त्र उम्मेदवारले विजय हासिल गर्न कठिन हुने भए पनि उनीहरूले कुनै दलका उम्मेदवारलाई हराउन वा जिताउन भने केही न केही भूमिका खेल्न सक्ने देखिन्छ । स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्नहरू पनि फरक फरक हुन्छन् । ‘संविधानसभा सदस्य निर्वाचन अध्यादेश, २०७०’ अनुसार स्वतन्त्र उम्मेदवारको निमित्त छुट्याइएको निर्वाचन चिह्नको समूहबाट स्वतन्त्र रुपले खडा भएको उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरिएका निर्वाचन चिह्न तोकिएबमोजिमको तरिकाअनुसार निर्वाचन अधिकृतले प्रदान गर्नेछ ।

गगनविरुद्ध सुप्रभाको उम्मेदवारी

स्वतन्त्र उम्मेदवार हुनेहरू प्रायः पहिला पार्टीमा आबद्ध तथा टिकटको आकाङ्क्षीहरू हुने गर्दछन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट गत निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी सुप्रभा घिमिरेले यस पटक आधिकारिक टिकट नपाएपछि आफ्नो अस्तित्वका लागि भन्दै स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

उनले काँग्रेसका युवा नेता गगन थापाको केही मत आफूतिर तान्न सक्ने अनुमान गरिएको छ । नेत्री घिमिरेले आफूलाई पार्टीले अपमान गर्दै सो क्षेत्रका जनताको भावना नबुझी तथा महिलाको स्वाभिमानमा आँच पु¥याउने काम गरेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

प्रचण्डविरुद्ध पदम

सशस्त्र युद्धकालमा एउटै पार्टीमा रहेका पदमबहादुर कुँवर अहिले एमाओवादीका प्रचण्ड उम्मेदवार रहेका काठमाण्डु– १० मा स्वतन्त्र उम्मेदवार बनेका छन् । प्रचण्डलाई सार्वजनिक कार्यक्रममा थप्पड हानेर कुँवर चर्चामा आएका थिए । यद्यपि कुँवरले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत रिसिइबीको घटनासँग जोडेर नहेर्न आग्रह गरेका छन् । उनले सम्पूर्ण बेरोजगार युवाको हितका लागि आफूले उम्मेदवारी दिएको दाबी गरे ।

क्षेत्र नं १० मा कुँवरसहित नरेश महर्जन, विकास महर्जन, विनोदकुमार भण्डारी, विष्णुबहादुर महर्जन, भरतबहादुर विसुराल, कविकान्त मानन्धर, रवीन्द्र महर्जन, राजु थापा, सुदर्शन हुमागाईं स्वतन्त्र उम्मेदवार छन् ।

कुकुर इमान्दार छ

स्वतन्त्र उम्मेवारीमध्ये काठमाण्डु–१ का गोविन्दनारायण फरक प्रकारको प्रचार शैलीका कारण चर्चामा हुनुहुन्छ । उहाँको निर्वाचन चिह्न कुकुर रहेको छ । ‘कुकुर इमानदार छ । घुस पनि खाँदैन…’ जस्ता नारालाई उनले प्रचारका क्रममा उठाउने गरेका छन् ।

निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा उहाँसहित अनिलकुमार श्रेष्ठ, केशव ओली, गीता दाहाल, दलबहादुर बस्नेत, विमलादेवी घिमिरे, राजेन्द्रप्रधान श्रेष्ठ, लीलाधर रिमाल, शिवकुमार श्रेष्ठ, सुवर्णकुमार श्रेष्ठ र हरिभक्त जोशी स्वतन्त्रतर्फका प्रतिस्पर्धी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us