सङ्कटग्रस्त मालद्वीपमा दोस्रो चरणको मतदान

काठमाण्डु टुडे २०७० मंसिर १ गते ८:०२ मा प्रकाशित

मालद्वीप, १ मङ्सिर–मालद्वीपमा नयाँ राष्ट्रपति निर्वाचन गर्न तथा महिनौसम्मको राजनीतिक अस्थिरता अन्त्य गर्न अन्तर्राष्ट्रिय कडा दबाब परिरहेको अवस्थामा यस मुलुकमा राष्ट्रपति पदको दोस्रो चरणको मतदान शनिबार आरम्भ भएको छ ।
हिन्द महासागरमा अवस्थित द्वीप मुलुकमा स्थानीय समयअनुसार बिहानको ७ः३० बजे मतदान केन्द्रहरू खुला भएका छन् र यस निर्वाचनमा दुई लाख ३९ हजार मतदाताहरूले आठ घण्टा ३० मिनेट मतदान गर्ने व्यवस्था गरिएको छ । उनीहरूले दुई उम्मेदवारमध्ये एकलाई छनौट गर्ने जानकारी निर्वाचन आयोगका अधिकारी ऐसाथ रिमाले एएफपीलाई दिइन् ।
भूमध्यसागरीय रेखाको वरपर छरिएरका द्वीपहरूमा ४७५ मतदान केन्द्र रहेका छन् र यस पटकको निर्वाचनमा केही बढी मतदाता मतदानका लागि सहभागी भएको रिमाले बताइन् ।
निर्वाचनको एक खारेज भएको नतिजा तथा दुई रद्द भएको मतदानपछि विदेशी कूटनीतिज्ञहरूले राजनीतिक रूपमा अभिप्रेरित भएर निर्वाचन ढिलाइ हुनसक्ने आशङ्का गरेका छन् भने शनिबारको निर्वाचन पनि तोकिएको समयमा नभए उचित उपाय गरिने चेतावनी युरोपेली महासङ्घले दिएको छ ।
सन् २००८ मा पहिलो पटक स्वतन्त्र निर्वाचनमा विजय हासिल गरेका प्रजातन्त्र समर्थक प्रतिपक्षी उम्मेदवार मोहमद नसिद यस निर्वाचनमा अग्रस्थानमा रहेका छन् । लगभग २१ महिना अगाडि प्रहरी अधिकारीहरूको विरोध तथा प्रदर्शनका कारण उनले राजिनामा दिएका थिए ।
राष्ट्रिय निर्वाचनको समयमा पूर्व राष्ट्रपति नसिदलाई प्रतिस्थापन गर्ने राष्ट्रपति मोहमद वाहिद बिहीबार आफ्नी श्रीमतीको उपचारका लागि हङकङ प्रस्थान गरेका छन ।
राष्ट्रपतिका प्रवक्ता मसुद इमादले उनी निरन्तर रूपमा सम्पर्कमा रहेको र चिन्ता गर्नुपर्ने कारण नभएको बताए । साथै उनले आइतबार नयाँ नेताको सपथग्रहणका लागि संसद जिम्मेवार हुने बताए ।
संविधान अनुसार गत साता पदावधि सकिएका राष्ट्रपति वाहिद नसिदको दलले राजिनामा मागे पनि तथा पश्चिमी मुलुक तथा भारतले दबाब दिए पनि आफ्नो पदमा कायम रहेका छन् ।
उनले बिहीबार एक भाषणमा शनिबारको निर्वाचनपछि आफूले राजिनामा दिने अभिप्राय राखेको घोषणा गरेका छन ।
सामुद्रिक रूपमा व्यापक मुगा उपलब्ध द्वीपहरूको समूह यस मुलुकमा ३० वर्षसम्म शासन गर्ने निरङ्कुश नेता मौमुन अब्दुल गयुमका भाइ अब्दुल्लाह यामिन र नसिद यस निर्वाचनमा प्रतिद्वन्द्वीको रूपमा देखिएका छन् ।
सेप्टेम्बर ७ मा भएको पहिलो चरणको निर्वाचनमा नसिदले ४५ प्रतिशत मत प्राप्त गरेका थिए र त्यसलाई सर्वोच्च अदालतले खारेज गरेको थियो ।
नोभेम्बर ९ मा भएको अर्को निर्वाचनमा नसिदले ४७ प्रतिशत मत प्राप्त गरेका थिए र त्यसपछिको दोस्रो चरणको मतदान रोकिएको थियो । बुधबार ५३ सदस्यीय राष्ट्रमण्डलीय समूहले मालद्वीपलाई अनुशासन समितिबाट हटाएको थियो । यस समितिले यस मुलुकमा देखिएको राजनीतिक अराजकताका विषयमा अनुसन्धान आरम्भ गरेको थियो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us