लेखकका आँखामा यस्त छन् प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १३:०८ मा प्रकाशित

krishna khanalमुलुकका लागि प्रचण्डको नेतृत्व चाहिएको छ:
कृष्ण खनाल, प्राध्यापक

अहिले मुलुकभरि प्रचण्डको खाँचो छ । उनलाई मुलुकभरका मतदाताले खोजिरहेका छन् । उनी कुनै एउटा क्षेत्रका मात्र होइनन्, सिंगो देशका नेता हुन् । देशभरका जनताले अहिले प्रचण्ड मेरो क्षेत्रमा आइदिए हुन्थ्यो भन्ने आशा राखेको छ । म काठमाण्डु–१० को मतदाता हुँ ।

तर म प्रचण्ड काठमाण्डु–१० को मात्र नेता भइदिउन् भन्ने आशा कदापि राख्दिन । काठमाण्डु–१० का तमाम सचेत मतदाताले यो कुरा बुझ्न जरुरी छ । पञ्चायती शैलीमा जनताका घरघर पुगेर भोट माग्ने प्रक्रिया लोकतन्त्रमा बन्द गरिनुपर्छ । दरघैदो भन्ने गलत परम्परा हो । त्यो अब छाड्नुपर्छ ।  प्रचण्डजी देशभर घुम्नुभएको छ, यो देख्दा मलाई खुसी लाग्छ ।

मतदातासँग खुला रुपमा मत माग्ने हो । एक्लाएक्लै भेटेर कानेखुसी गर्ने अपारदर्शी तरिका अब काम छैन । आदरणीय प्रचण्डजी म मुलुकका लागि तपाईंको नेतृत्वको खाँचो छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ । तपाईंका कयौं कुरामा म आजका दिनसम्म पनि सहमत हुन सक्दिन । तर देशलाई तपाईंको नेतृत्वको खाँचो छ । म हिजोसम्म एउटा कुनै पार्टीको विचारमा आस्था राख्ने व्यक्ति थिएँ । अघिल्लो निर्वाचनसम्म पनि पार्टीका पक्षमा भोट मागेर हिंडेकै हुँ । तर आजका दिन म कुनै पार्टीमा छैन ।अर्को पार्टीमा जानका लागि पूरानो पार्टीमा छैन भनेको होइन । म जीवनभर लोकतन्त्रका लागि काम गर्छु, त्यसका लागि कुनै पार्टीको विचार बोकेर हिंड्न जरुरी छैन ।

कुनै पनि मुलुकमा नेतृत्वको ठूलो महत्व हुने गर्छ ।  पदमा को बसेको छ भन्ने कुराले नेतृत्वको क्षमता मापन हुँदैन । बीपी लामो समय पदमा रहेनन्, तर लामो समय उनले मुलुकलाई नेतृत्व दिए । केही दिनअघि एउटा अफवाह फैलाइयो प्रचण्डले चुनाव हार्दैछन् भनेर । यहींको मतदाता भएको हैसियतमा केही पत्रकारले मलाई पनि सोधे । तर त्यो असत्य कुरा हो । समय नदिएकामा प्रचण्डप्रति जनमासनमा उत्पन्न भएको असन्तुष्टिलाई मेरो भन्नु केही छैन । उनी समयको चापमा छन् । प्रचण्डलाई मुलुककै नेतृत्व गर्नुछ । हामीले उनलाई मुलुककै नेता बनाउने हो । मेरो तपाईंहरु सबैलाई आग्रह छ, अध्यक्ष प्रचण्डलाई वडा अध्यक्षका रुपमा नहेरौं । यो कुरा मैले भन्न मिल्छ, तर उम्मेदवार र यसअघि यही क्षेत्रबाट जितेर गएका कारण प्रचण्डले मतदाताको अपेक्षालाई गलत रुपमा लिन मिल्दैन । विश्वास राखौं, प्रचण्डले जित्नेछन् । तर पहिल्यै जितको घोषणा गर्ने काम नगरौं । यो लोकतान्त्रिक विधि होइन ।

चुनावका बेला कहिलेकाहीं नसोचेको परिणाम आउन सक्छ, त्यसमा ख्याल गर्नुपर्छ । टाढै जानै पर्दैन, गत संविधानसभा निर्वाचनमा माधवकुमार नेपाल पराजित भए । एउटा महत्वपूर्ण दलका प्रमुख नेता पराजित नभएकै राम्रो हुन्थ्यो । प्रचण्डजीका अगाडि चुनौती धेरै छन् । तपाईंले मेची–काली अभियानका क्रममा दुई तिहाई ल्याएर संविधान जारी गर्छु भन्दै हिंडेको मैले मिडियामार्फत सुनेको छु ।

तपाईंको ठाउँबाट त्यसो भन्नु स्वभाविकै होला । तर संविधानजस्तो विषयलाई दुई तिहाईमा सीमित गर्नुहुँदैन । संविधान कुनै पार्टीको आयुसँग दाज्ने विषय होइन । आजभन्दा १५ वर्षअघि प्रचण्डको नेतृत्वमा आजको जस्तो विशाल पार्टी थिएन । त्यो ठाउँमा त्यतिखेर अर्कै पार्टी थियो । २००४ सालअघि काँग्रेस र २००६ सालअघि कम्युनिष्ट थिएनन्, तर मुलुक थियो । त्यसैले दलभन्दा संविधान र संविधानभन्दा मुलुक ठूलो हो ।

khagendraक्रान्ति र शान्ति प्रक्रियाका नायक
खगेन्द्र संग्रौला
लेखक, राजनीतिक विश्लेषक

निर्वाचन मुलुकको मुखैमा आइसकेको छ । निर्वाचन सकियो भने पनि हुन्छ, मात्र मतदान गर्न र परिणाम हेर्न बाँकी छ । काठमाण्डु–१० का मतदाताले गर्व गर्नुपर्छ, किन भने उनीहरुले प्रचण्डजस्तो योग्य उम्मेदवारलाई भोट हाल्न पाउने छन् । म काठमाण्डु–४ को मतदाता हुँ, त्यसैले मैले त्यो अवसर पाउन सक्दिन ।

तपाईं काठमाण्डु–१० का मतदाताले जनयुद्धका, शान्तिप्रक्रियाका र संविधान लेखनका नायकलाई उम्मेदवारका रुपमा पाउनुभएको छ । त्यसका लागि तपाईंहरुलाई मेरो सलाम छ । परिवर्तनविरोधी शक्तिले मंसिर–४ मा संविधानसभा निर्वाचन हुँदैन भनिरहेका थिए । मोहन वैद्यलाई बाहिर राखेर निर्वाचन गर्न सम्भव छैन भन्थे ।

रामायण पढ्दै जाँदा धेरै ठाउँमा वायुपुत्रको प्रसंग आउँछ । मेची–महाकाली जागरण अभियानमा प्रचण्डले वायुपुत्र झैं देशभर आफ्नो उपस्थिति देखाए । त्यसले मुलुकमा एकाएक निर्वाचनको माहोल निर्माण गर्‍यो । काठमाण्डु–१० का मतदाता मात्र होइन, देशभरका मतदाता जसले शान्ति, संविधान र समृद्धि चाहान्छन् उनीहरुले निर्वाचनको वातावरण बनाइदिएकामा प्रचण्ड र बाबुरामलाई धन्यावाद दिनुपर्छ ।

प्रचण्डले जुन भूमिका खेलिरहेका छन् त्यसलाई हेरेर यहाँका जनताले उनीसँग गुनासो गर्नु हुँदैन । वास्तवमा अहिले देशभर जुनप्रकारको चुनावी माहोल देखिएको छ, त्यो प्रचण्डको खटाइबाट सम्भव भएको हो । यसपालिको चुनावमा पैसाको खोलो बगेको छ । निर्वाचन कार्यक्रम स्थगन भएपछिका केही दिन सोझा मतदातालाई प्रभावित गर्न मोटो रकमको चलखेल गर्ने गरेको विगतको इतिहास छ ।

यसपालि पनि त्यही इतिहास दोहोरिने सम्भावना छ । त्यसैले पैसाको खोलोले मतदाता प्रभावित पार्ने काम रोक्न सकेको खण्डमा यसपटक एमाओवादीको बहुमत आउनबाट कसैले रोक्न सक्ने म देख्दिन ।

shyamप्रचण्ड नेताको पनि नेता
श्याम श्रेष्ठ
लेखक, राजनीतिक विश्लेषक

काठमाण्डु निर्वाचन क्षेत्रबाट विजयका लागि लायक उम्मेदवार भनेको प्रचण्ड नै हो । त्यस कारण प्रचण्डले नै जित्नुपर्छ । यो म प्रचण्ड ठूलो पार्टीको नेता भएका कारण भनिरहेको छैन । अहिले नेपालमा भएका सबै नेतालाई समेटेर लैजान सक्ने नेताको पनि नेता भनेको प्रचण्ड मात्रै हो । हनुमानलाई आफ्नो शक्ति थापा नपाएर कहिले काहीं अरुले भनिदिनुपथ्र्यो रे ।

मलाई कहिले काहीं यस्तो लाग्छ कि प्रचण्डलाई पनि उनको शक्तिका बारेमा बेला–बेलामा अरुले भनिदिनुपर्छ । १० तिर फर्किएका दललाई एकै ठाउँमा उभ्याउन सक्ने, विरोधीलाई पनि सहमतिमा ल्याउन सक्ने नेता प्रचण्डबाहेक आजको नेपालको अरु कोही छ त ? नेपालमा जारी शान्तिप्रक्रिया र संविधान निर्माणलाई टुंगोमा पुर्‍याउनका लागि आवश्यक अरु व्यक्ति पनि छन् ।

उनीहरुले पनि चुनाव जित्नुपर्छ । नेपालमा शान्तिप्रक्रियालाई बुझ्ने मानिस नै कम छन् । संविधान लेखन शान्तिप्रक्रियाको महत्वपूर्ण पाटो हो । त्यसलाई टुंग्याउन प्रचण्ड चाहिन्छ । त्यसैले हामीले उनलाई जिताऔं भनेका हौं । प्रचण्डजीलाई मेरो सुझाव छ, सहमतिका नाममा विगतमा जस्तो चार/चारवर्षसम्म अल्झिने काम यसपटक नगर्नुस् । यसपटक दलहरुबीच सहमति नभएका विषयलाई प्रक्रियामा लैजानुपर्छ । नभए जनमतसंग्रहमा समेत जान सकिने प्रावधान अन्तरिम संविधानमा छ । विगतमा संविधानका अन्तरवस्तुमा दलहरुबीच सहमति नभएपछि विवादित विषय छिनोफानोका लागि संिवधानसभाको पूर्ण बैठकमा लानुपथ्र्यो, त्यसो गर्न तपाईंले पनि सक्नु भएन ।

अब यस विषयमा तपाईं नै अगुवाई गर्नुस्, तपाईं त्यो गर्न पनि सक्नुहुन्छ । यसपटक विषयगत समितिको नेतृत्व शीर्ष नेताले नै गर्नुस् । प्रचण्ड, सुशील कोइराला, झलनाथ खनालको सहमति जुटाउने क्षमता र सामान्य कार्यकर्ताको क्षमता एउटै हुँदैन । विगतमा तपाईंहरुले संविधानसभा र व्यवस्थापिका–संसद् एउटै बनाएर गल्ती गर्नुभयो । त्यसले गर्दा व्यवस्थापिकाको छायाँ संविधानसभामा पर्‍यो । दलहरुबीच भित्रभित्रै मिश्रित शासकीय स्वरुपमा कुरा मिलिसकेको चर्चा सुन्नमा आएको छ ।

मिश्रित शासकीय स्वरुपमा हुनै हालतमा नजानुस् । त्यसले मुलुकलाई थप अस्थिरतातर्फ लैजान्छ । तपाईंहरुले घोषणापत्रमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव अघि सार्नुभएको छ, । त्यो ठीक छ । प्रत्यक्ष राष्ट्रपतिमा कुरा मिलेन भने एमालेले भनेजस्तो जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री पनि दोस्रो उयपुक्त विकल्प हो । एमालेले अघि सारेको प्रस्ताव भनेर यसमा नाक खुम्च्याउने काम नगर्नुहोला । नेताको पनि नेता भएका कारण प्रचण्डले सबैलाई मिलाएर लैजानुपर्छ । काठमाण्डु–१० मा प्रचण्डसँग तुलना गर्न लायक कुनै उम्मेदवार छैनन् । शान्तिप्रक्रिया र संविधान लेखनको नेतृत्व गरेका कारण प्रचण्डले जित्नुपर्छ  ।

jhalakप्रचण्ड सबैले पत्याएका नेता

झलक सुवेदी
लेखक, राजनीतिक विश्लेषक

प्रचण्डजत्तिको राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास र आशा गरेको नेतृत्वलाई उम्मेदवारका रुपमा पाउनु हामी काठमाण्डु क्षेत्र नम्बर–१० का जनताका लागि खुसीको कुरा हो ।

उहाँ मुलुकका लागि भविष्यमा विशिष्ट भूमिका खेल्न सक्ने व्यक्ति हुनुहुन्छ । त्यसकारण उहाँजत्तिको व्यक्तिलाई हामीले संविधानसभा सदस्यमा जिताएर पठाउनुपर्छ । नेपालको राजनीति अहिले जुक किसिकको गोलचक्करका बीचबाट गुज्रिएको छ, त्यसबाट मुक्त गर्न निर्वाचन एक मात्र विकल्प हो ।

निर्वाचनबाट गठन हुने संविधानसभाको दायित्व राज्य पनुर्संरचना र शासकीय स्वरुपजस्ता अहम विषयको छिनोफानो गरेर नयाँ संविधान जारी गर्नु हो । सयौं वर्षदेखि नेपाली समाजमा लादिएको अन्यायपूर्ण संरचनामा फेरबदल नगरी नेपाली समाजको अग्रगामी रुपान्तरण सम्भव छैन ।

जनयुद्ध, जनआन्दोलन र विभिन्न खालका आन्दोलनमा क्रममा आमजनताले राज्य र नागरिकबीचको सम्बन्धमा पुर्नपरिभाषाको आकांक्षा व्यक्त गरेका थिए । ती सबै आकांक्षाहरुको सम्बोधन अरुको समेत साथ लिएर प्रचण्डले मात्र पूरा गर्न सक्छन् भन्ने धेरैलाई लागेको छ ।

आजको दिनमा प्रचण्डबाट आमजनता र मुलुकले फेरि ती आकांक्षा पूरा गर्ने प्रतिबद्धता चाहेको छ । पछिल्लो समय हरेक दिन देशका विभिन्न भागमा विस्फोटका घटनाहरु भइरहेका छन् । प्रचण्ड स्वयम्लाई समेत लक्षित गरेर विस्फोट गराइएको अवस्था छ । त्यसले शान्ति प्रक्रिया अझै टुंगिन बाँकी रहेजस्तो भान हुन थालेको छ । त्यसलाई टुंगोमा पुर्‍याउने दायित्व पनि इतिहासले प्रचण्डलाई नै दिएको छ । प्रचण्डले त्यो हैसियत पनि राख्नुहुन्छ ।

hari-rokaसंविधान जारी गर्ने जिम्मेवारी प्रचण्डको काँधमा
हरि रोका
लेखक, राजनीतिक विश्लेषक

मुलुकमा पहिलो संविधानसभाले संविधान जारी गर्न सकेन । अहिले हामी फेरि दोस्रो संविधानसभाको संघमारमा आइपुगेका छौं । तेस्रो संविधानसभा निर्वाचन हुँदैन भनेर जनतालाई आश्वस्त तुल्याउने दायित्व प्रचण्डको हो । मुलुकलाई छिटोभन्दा छिटो संविधान दिएर राजनीतिक स्थायित्व र विकासमा अघि बढाउने अभिभारा पनि इतिहासले प्रचण्डलाई नै दिएको छ ।

नयाँ बन्ने संविधानसभाको मुख्य कार्यभार संघीयताको साझा मोडल तयार गर्नु र शक्तिको बाँडफाँट गर्नु हो । आज हामी निर्वाचनको कुरा गरिरहँदा रोजगारीका सिलसिलामा ५६ लाख युवा विदेशमा छन् । उनीहरु मतदान गर्नबाट वञ्चित छन् । ५६ लाख भनेको हाम्रो जनसंख्याका लागि ठूलो हो । मुलुकमा प्रशस्त रोजगारीको अवसर सिर्जना गरी अबको निर्वाचनमा उनीहरुलाई पनि मताधिकार प्रयोग गर्ने अधिकार प्रदान गरिनुपर्छ ।

विगतमा संविधानसभाभित्र दलहरुबीच व्यवस्थित छलफल नै हुन सकेन । त्यसलाई व्यवस्थित गर्ने जिम्मेवारी प्रचण्डको काँधमा आएको छ । दोस्रोपटक निर्वाचन सम्भव भएको पनि प्रचण्डकै कारणले हो । यसलाई तात्विक निष्कर्षमा पुर्‍याउने जिम्मेवारी पनि प्रचण्डलाई नै छ । संविधानसभा, गणतन्त्र, संघीयताजस्ता एजेण्डा एमाओवादीकै हुन् । त्यसको रथ प्रचण्डले हाँकिरहनुभएको छ ।

(जागरुक नागरिक मञ्चले शुक्रबार कीर्तिपुरमा गरेको अन्तक्र्रियामा व्यक्त विचारको सम्पादित अंश)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us