साना दलको समानुपातिक साइनो

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते ११:३२ मा प्रकाशित

election-voteबागलुङ, २४ कात्तिक– निर्वाचनको मिति आउन मात्र १० दिन बाँकी रहँदा बागलुङका साना दल पनि प्रचारप्रसार र घरदैलो अभियानमा व्यस्त छन् । प्रत्यक्ष तर्फको जितको सम्भावना नभएपनि समानुपातिक तर्फ मत बढाउने सुरमा छन् साना दलहरु ।

आफ्नो पार्टीका मतदाताहरु तानेर ठूला दलले जित्ने परिपाटी पनि रहेका बेला आफ्ना मतदाता जोगाउनु पनि ठूलो कुरा भएको साना दलका नेताहरुले बताएका छन् । नेकपा मालेका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार तिलक रिजाल भन्छन्, ‘तर हामी विगतको निर्वाचनभन्दा यस वर्ष मत बढाउने गरी लागिरहेका छौँ ।’

‘गाविसको प्रधानपञ्चदेखि लामो समय समाजसेवा र राजनीतिमा सक्रिय तथा पार्टीको फरक एजेन्डाका कारण हामीलाई मत दिनेछन्’ राप्रपा जिल्ला अध्यक्ष तथा क्षेत्र नं १ का उम्मेदवार टिकाराम सापकोटाले भने । साना दलमध्येमा पहिलो पटक संविधानसभा निर्वाचनमा सहभागी हुन लागेका दुई फरक धार सङ्घीय नेपाल र अखण्ड नेपालको पक्षमा उभिएका नयाँ पार्टी पनि ठूलै सङ्ख्यामा मत लिने दाबी गर्छन् ।

ठूला दल प्रत्यक्षको दाउमा, साना दल समानुपातिकको प्रचारमा

जुम्ला– संविधानसभा सदस्य निर्वाचनमा आफ्नो दलको अधिकतम वर्चस्व कायम गराउन हिमाली जिल्लामा ठूला दलहरु प्रत्यक्ष उम्मेदवार जिताउने दाउमा छन् भने साना दलहरु आफ्नो सिट सुरक्षित गर्न समानुपातिक उम्मेदवारको प्रचारमा बढी व्यस्त छन् ।

जुम्लास्थित फोरम लोकतान्त्रिक, राप्रपा, राजमो, नेकपा (माले), तमलोपा, राप्रपा नेपाल र नेमकिपा पार्टीले प्रत्यक्षमा आफ्नो उम्मेदवार विजयी हुने नदेखेपछि समानुपातिक सिट सुरक्षितका लागि पार्टीमा भोट हाल्न मतदातालाई आग्रह गर्दै आएको बताएका छन् । राप्रपा जुम्लाका समानुपातिक उम्मेदवार मनसुर सुनारले मतदाताहरुलाई प्रत्यक्षमा भोट हालेर खेर फाल्नुभन्दा मात्र हल्का रातो मतपत्रको हलो चिह्नमा भोट हाल्न अनुरोध गरेको बताए ।

त्यसैगरी राजमोका गौरीलाल कार्की, राप्रपा नेपालका समानुपातिक उम्मेदवार धनबहादुर थापा, फोरम लोकतान्त्रिकका सरस्वती पाण्डे, नेकपा (माले)का हरिशरण आचार्यलगायतले समानुपातिक उम्मेदवारलाई छनोटमा पार्न आफ्नो पार्टीमा मत खसाल्न मतदाताहरुलाई आग्रह गरिएको जानकारी दिए ।

गीत गाउँदै भोट माग्दै

पोखरा– संविधानसभाको निर्वाचन आउन ९ दिन मात्र बाँकी रहँदा  कास्कीका चारवटै निर्वाचन क्षेत्रबाट उठेका साना दलको चुनावी प्रचारप्रसार तीव्र गतिमा अघि बढेको छ । प्रमुख तीन ठूला दलबाहेक निर्वाचनमा उम्मेदवारी दिएका १८ साना दलका उम्मेदवारलाई अहिले नगर तथा गाउँमा गीत गाउँदै भोट माग्दै हिड्न भ्याइनभ्याई छ ।

यसबाहेक ती दल घरदैलो कार्यक्रम, कोणसभा, भेटघाट एवम् पम्लेट वितरण गर्दै हिँडेका छन् । अघिल्लो संविधानसभामा ठूला भनाउँदा राजनीतिक दलले जनताबाट धेरै मत पाएर संविधानसभामा धेरैको सङ्ख्यामा सभासद् पठाए पनि नयाँ संविधान दिन नसकेकाले यसपालीको निर्वाचनमा साना पार्टीले संविधानको अधूरो काम पूरा गर्ने  जिम्मेवारी भएको भनी मतदाताले गुनासो पोखेको कुरा राष्ट्रिय जनमोर्चाबाट कास्की क्षेत्र नं ४ मा उम्मेदवार बनेका शङ्कर बरालले सुनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट क्षेत्र नं ४ मा उम्मेदवार बनेका भीमराज भण्डारीले यसपालीको निर्वाचनमा मतदाता राप्रपाप्रति बढी आकर्षित भएको विचार व्यक्त गरे । त्यस्तै राप्रपा नेपाल  क्षेत्र नं ४ का उम्मेदवार बरुणविक्रम राणाले चुनाव प्रचारप्रसारको क्रममा मतदातालाई दिग्भ्रमित र झुटा आश्वासन नदिएको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us