भारतको मङ्गल अभियान आरम्भ

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ९:५७ मा प्रकाशित

mars_india_launchनयाँ दिल्ली–भारतले मङ्गलग्रहको आफ्नो पहिलो अभियान मङ्गलबार सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो अभियान सफल भएमा भारत रातो ग्रहमा पुग्ने पहिलो एसियाली मुलुक हुनेछ र यसले न्यून लागतको अन्तरिक्ष प्रविधि प्रदर्शन गर्नेछ ।
भारतको दक्षिणी भागमा अवस्थित श्रीहरिकोटमा रहेको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार अपरान्ह २ः३८ बजे उक्त विमान प्रक्षेपण भएको राज्यद्वारा सञ्चालित टेलिभिजनमा देखाइएको थियो र रातो तथा कालो रङको उक्त विमान आकाशमा प्रवेश गर्दा टेलिभिजनमा प्रस्तोताले विमान प्रक्षेपण भएको बताएका थिए ।
३५० टनको यो प्रक्षेपक विमानमा मानवविहीन विमान पनि रहेको छ र यसको प्रक्षेपणलाई निकै तनाव अनुभव गरेका दर्जनौँ बैज्ञानिकहरूले अनुगमन गरिरहेका थिए । भारतले सन् १९६३ मा अन्तरिक्ष अभियान आरम्भ गरेपछि यो सबैभन्दा जटिल अभियान रहेको छ ।
भारतले यसअघि कहिल्यै अन्तरग्रह यात्राको प्रयास गरेको थिएन । मङ्गलग्रहका लागि हालसम्मका आधा अभियान असफल भएका छन् र सन् २०११ मा चीन तथा सन् २००३ मा जापानको अभियान असफल भएका थिए ।
तनावपूर्ण ४४ मिनेटपछि अन्तरिक्षयानले आफ्नो ३०० दिनको यात्रा सफलतापूर्वक आरम्भ गरेको समाचार पाएपछि प्रशान्त क्षेत्रको दक्षिणी भागमा अवस्थित अनुगमन कक्षमा खुसी छाएको थियो ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (आईएसआरओ) का अध्यक्ष के. राधाकृष्णनले आफ्ना एक सहयात्रीको पीठमा धाप मार्दै रकेट पृथ्वीको कक्षमा स्थापना भएकोमा आफू निकै खुसी भएको बताए ।
मङ्गलको वरपर घुमने यस अभियानलाई भारतमा मङ्गलयान भनिएको छ र यसका विषयमा पन्ध्र महिना अगाडि मात्र प्रधानमन्त्री मनमोहन सिंहले घोषणा गर्नुभएको थियो । त्यसको केही समयअघि मात्र चीनको अभियानमा रकेट पृथ्वीको वातावरणबाटै बाहिर जान असफल भएको थियो ।
भारतको स्वतन्त्रता दिवसको अवसरमा दिइएको भाषणमा उक्त कुराको जानकारी दिइएपछि भारतले चीनसँग सैनिक तथा आर्थिक रूपमा प्रतिस्पर्धा गर्न यो अभियान सञ्चालन गरेको अनुमान गरिएको थियो । यस कुरालाई भने आईएसआरओले अस्वीकार गरेको छ ।
एउटा सानो गाडीको आकारमा रहेको र सुनौला रङको यस अभियानले मङ्गल ग्रहको वातावरणमा मिथेन ग्यास छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्नेछ । यो विमान निकै छिटो तयार भएको छ र यसलाई अमेरिका तथा रसियाको भन्दा सानो रकेटमार्फत पृथ्वीको कक्षमा स्थापना गरिएको छ ।
पृथ्वीबाट सोझै प्रक्षेपण गर्दा आवश्यक पर्ने ऊर्जाको कमीका कारण यो विमान एक महिनासम्म पृथ्वीको चारैतिर घुम्नेछ र त्यसले यस अवधिमा पृथ्वीको गरुत्वाकषर्णबाट मुक्त हुन आवश्यक गति प्राप्त गर्नेछ ।
त्यसपछि मात्र यसले आफ्नो यात्राको दोस्रो चरण आरम्भ गर्नेछ र यसले भारतीय वैज्ञानिकहरूको परीक्षण गर्नेछ । भारतीय वैज्ञानिकहरूले पाँच वर्षअघि चन्द्रमामा चन्द्रयान पठाएका थिए ।
मङ्गल अभियानका लागि भारतले ४.५ अर्ब भारतीय रूपैयाँ अर्थात सात करोड ३० लाख अमेरिकी डलर बराबर खर्च गरेको छ । नासाले यस महिनाको अन्त्यतिर आरम्भ गर्ने मङ्गल अभियानमा ४५ करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने बताइएको छ ।
नासाका मङ्गल अभियानका परियोजना वैज्ञानिक जो ग्रिबोस्कीले भारतले यति छिटै यो अभियान सञ्चालन गर्छ भन्ने आफूहरूले विश्वास नगरेको र यो सफल भएको बताए ।
उनले मङ्गलको घुमाइमा यो ग्रह पृथ्वीबाट पाँच करोड किलोमिटर देखि ४० करोड किलोमिटरको दुरीमा रहने र यसको परिक्रमा गर्ने कुरा चन्द्रअभियानको तुलनामा निकै जटिल भएको बताए ।
उनले चन्द्रमा निकै नजिक भएको र मङ्गलको परिक्रमा गर्दा त्यो नजिकै पुग्ने अवस्थाका बारेमा निकै ध्यान दिनुपने उल्लेख गरे ।
भारतको चन्द्रयानसँगको सम्पर्क सन् २००९ मा टुटेको छ भने सन् २०१० मा अर्को प्रक्षेपक यान पनि विस्फोट भएको थियो ।
यस कार्यक्रमका आलोचक पनि छन् र उनीहरूले भारत आफ्नो जनतालाई खुवाउन नै सङ्घर्ष गरिरहेको र अझै मुलकका आधाभन्दा बढी घरमा शौचालय नभएको अवस्थामा अन्तरिक्ष यात्रामा यस्तो खर्चको औचित्यमा प्रश्न गरेका छन् ।
आइएसआरओले प्रविधिले भारतलाई भूउपग्रहका सहयोगबाट उसको मौसम तथा जलस्रोतको अनुगमन गर्न तथा दूर्गम क्षेत्रमा सञ्चार गर्न सहयोग गरी आर्थिक विकासमा सहयोग गरेको दाबी गरेको छ ।
बङगलौरमा केन्द्रीय कार्यालय रहेको यस संस्थामा १६ हजार कर्मचारी छन् र उनीहरूले आफ्नो रकेटसम्बन्धी प्रविधि भारतको क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गर्ने प्रतिरक्षा निकायलाई उपलब्ध गराएका छन् ।
अमेरिकाले मात्र मङ्गलको अनुसन्धान गर्न रोबोटिक यन्त्र पठाउन सफलता प्राप्त गरेको छ । उसको क्युरोसिटीले सन् २०१२ मा मङगललाई छोएको थियो ।
भारतको अभियानको प्रमुख लक्ष्य मङ्गलग्रहमा जीवनका लागि आवश्यक मिथेन ग्यास रहे÷नरहेको विषयमा अनुसन्धान गर्नु रहेको छ । क्युरोसिटीको अध्ययनमा त्यहाँको वातावरणमा थोरै मात्र मिथेर रहेको देखिएको छ ।
भारतको अन्तरिक्ष वैज्ञानिक जितेन्द्रनाथ गोस्वामीले एक स्थानको मात्र मिथेनको खोजी पर्याप्त नहुने बताए ।
नासाले नोभम्बर १८ मा माभेन अभियान प्रक्षेपण गर्नेछ । यस संस्थाले आईएसआरओलाई सञ्चारमार्फत सहयोग गरिरहेको छ । मिथेनको बादल मङ्गलग्रहमा यसअघि पनि दूरबिनबाट देखिएको थियो । पृथ्वीमा मिथेन सूक्ष्म जीवाणुले उत्पादन गरेको देखिएको छ । रासस/एएफपी

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us