चीनमा गरिबको स्कूल भत्काएर महङ्गो पर्यटन क्षेत्र बनाउने कसरत

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ०:३९ मा प्रकाशित

बेइजिङ, १९ कात्तिक–चीनको मध्यभागमा रहेको हुनान प्रान्तको यानलिङ प्रशासकीय क्षेत्रमा किसान परिवारका बालबालिका लागि दाताले दान दिएको रकमबाट बनेको प्रथामिक विद्यालय भत्काएर
१.६ अर्ब अमेरिकी डलर बराबरको विशाल अन्तर्राष्ट्रिय आरामदायी पर्यटकीय स्थल बनाउन लागिएको छ । यसको इन्टरनेटमा विरोध भएको छ । china
बिद्यालय भवन बनेको दुई वर्षभन्दा कम अवधिमै भत्काइएको समाचार बेइजिङ युथ डेलीले दिएको छ । यो भवन बनाउन चीनको गरिबी प्रभावित क्षेत्रमा शिक्षा प्रवर्धन गर्ने ‘प्रोजेक्ट होप’ले एक लाख ५० हजार अमेरिकी डलर बराबर दान दिएको थियो ।
यस विद्यालयमा २८ विद्यार्थी अध्ययन गर्ने गरेको र उनीहरू हाल बारेको कोठामा अध्ययन गर्ने गरेको उक्त पत्रिकाले उल्लेख गरेको छ । उनीहरूको हालको कक्षाकोठाबाट पहिलेको विद्यालय भवनको भग्नावशेष स्पष्ट रूपमा देख्नसकिने छ ।
यानलिङ प्रशासकीय क्षेत्रका अधिकारीहरूले अव यस विद्यालयको स्थानमा ‘सेनोङ उपत्यका अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटक स्थल’ बन्ने बताए । यस परियोजनाको लागत १.६ अर्ब अमेरिकी डलर बराबर छ ।
यसअघि सरकारी आमसञ्चारले दिएको समाचारमा उच्च–लागतको यस सांस्कतिक पर्यटन परियोजनामा स्वास्थ्य तथा शारीरिक अभ्यास सुविधा, सङ्ग्रहालय तथा मौलिक पर्यावरणीय होटेल रहने जानकारी दिएको थियो ।
इन्टरनेट प्रयोगकर्ताहरूले यस परियोजनाको विरोध गरेका छन् । एक लेखकले यस कार्यबाट आशा भत्केको र शिक्षालाई भ्रष्टाचारले खाएको उल्लेख गरेका छन् ।
अर्का लेखकले साधारण जनताले मन पराएको विद्यालय भत्काउने कार्य किन आवश्यक भयो भनी प्रश्न गरेका छन् ।
अर्का लेखकले पर्यटन विकास तथा अर्थतन्त्रको विस्तार राम्रो कुरा भए पनि कुनै पनि अवस्थामा आशालाई परित्याग गर्न नहुने उल्लेख गरेका छन् । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us