महँगियो भाइटीका : व्यापारमा कमी,उपभोक्ता मारमा

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ०:११ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक–लाजिम्पाटकी ज्ञानुमाया बुढाथोकी भाइटीकाको अघिल्लो दिन निकै चिन्तित भइन ।
भाइटीकाको मसला किन्न असन पुगेकी बुढाथोकीको खर्च अघिल्लो वर्षको तुलनामा तीन हजार रुपैया बढी भएको छ । अघिल्लो वर्ष आठ जना भाइको लागि चार हजार रुपैया खर्च गरेकी उनले यसपटक सात हजार रुपैया खर्च गरेर सामान किनेकी छिन ।
उनी भन्छिन “समय र परिस्थितिको उपज हो । जति महँगी भए पनि परम्परा धान्नै परो, चौपट महँगीले हामीजस्ता उपभोक्ता मारमा परिएको छ ।”
एकान्तकुना ललितपुरकी गङ्गा केसीले अघिल्लो वर्ष भाइका लागि पाँच हजार रुपैयाको किनमेल गरेकी थिइन,यसपटक झन्डै त्यसको दोब्बर खर्च भएको छ ।
भाइटीकाका लागि सधैँ असनमा सामान खरिद गर्न आउने केसीले यसपटक मसला, फलफूल र मालाको भाउ अत्यधिक बढेकाले उपभोक्ता मारमा परेको बताइन ।
अनामनगरकी सविता अधिकारीलाई पनि असन बजारको भीडभाड र महँगीले अचम्म तुल्याएको छ ।
उनलाई भाइटीकाका लागि चाहिने मसला र अन्य सामान खरिद गर्दा अघिल्लो वर्षको तुलनामा दोब्बर खर्च भएको छ ।
असनमा मसला किन्ने उपभोक्ता मात्र हैन व्यवसायी पनि यसपटकको तिहारमा महँगीले व्यापार सन्तोषजनक हुन नसकेको बताउँछन् ।
मसलालगायतका वस्तुमा भएको मूल्यवृद्धिले उपभोक्ता निकै हच्किएको र अघिल्लो वर्षको तुलनामा सामान पनि कम खरिद गर्ने गरेको उनीहरूको भनाइ छ ।
पुख्र्यौलीरूपमा मसलाको व्यापार गर्दै आएका असनचोकका सञ्जय धौ महँगीले गर्दा यसपटकको तिहारमा व्यापारमा दोब्बरले कमी आएको बताउछन ।
अघिल्लो वर्ष दैनिक रु ५० हजारसम्म कारोबार गरेका उनको व्यापार यसपटक दैनिक रु २० देखि २५ हजार मात्र भएको छ ।
असनका सबै पसलमा कुकुर तिहारदेखि लक्ष्मीपूजाको दिनसम्म भीड भए पनि सोमबार पसल सुनसान प्रायः देखिन्थ्यो ।
असनचोककै अन्नपूर्ण ड्राइफुड सेन्टरका सञ्चालक सुरेश प्रजापतिले पनि यसपटक दैनिक रु १२ देखि १५ हजारसम्मको मात्र कारोबार गरेका छन ।
भाइटीकाका लागि काजु, पेस्ता, बदामलगायतका १७ थरि मसला चाहिन्छ । यीमध्ये यसपटक सबैभन्दा महँगो मूल्य पेस्ता, काजु र अलैँचीको भएको छ ।
नेपाल खुद्रा व्यापार संघको मूल्यसूचीअनुसार पेस्ताको मूल्य प्रति केजी रु एक हजार ४०० रहेको छ तर केही व्यापारीले रु एक हजार ६०० सम्म बेचेको पाइयो ।
अघिल्लो वर्ष अलैचीको मूल्य प्रतिकेजी रु एक हजार २०० रहेकामा यसपटक रु एक हजार ६०० पुगेको छ । त्यस्तै बदामको मूल्य प्रतिकेजी रु ९५० र काजुको मूल्य प्रतिकेजी रु एक हजार १०० रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us