गुनासाले भरिएका लोकेन्द्रका डायरी

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ८:३२ मा प्रकाशित

म्याग्दी –एकिकृत नेकपा माओवादीका बरिष्ठ केन्द्रीय सदस्य लोकेन्द्र बिष्टमगरले आफनो निर्वाचन क्षेत्रका जनताका समस्या टिपेर डायरी भरेका छन् । एकीकृत माओवादीको मगरात राज्य समितिको इन्चार्ज समेत रहेका विष्टले चुनावी अभियानका क्रमा म्याग्दीका २२ गाविस पुगिसकेका छन् ।
प्राकृितक रुपमा समृद्ध भएपनि विकासको पुर्वाधारका हिसावले तुलनात्मक रुपमा  पछाडी नै छ म्याग्दी । त्यहि पछाडी परेको म्याग्दीलाई विकासको मुलधारमा फर्काउन यहि जिल्लाबाट चुनाव लडेका विष्टमगर चुनावी अभियानका क्रममा गाउ बस्ती चहारिरहेका छन् ।Lokendra 1

चुनावी कार्यतालिका बनाएर हिंडेका विष्टको चुनावी प्रचार शैली म्याग्दीका अन्य उम्मेदवारको भन्दा फरक छ । सामान्यत मन्त्री र पार्टीको पोलिटब्युरो सदस्य भैसकेका ब्यक्ति अरुभन्दा पृथक र ठूला मान्छे हुन भन्ने नेपाली राजीतिमा स्थापित छ । तर विष्टले त्यो मान्यतालाई गलत सावित गरिदिएका छन् । आफ्ना कार्यकर्ताले बोके जस्तै निकै गह्रौ झोला बोकेका विष्ट कार्यकर्ता र जनतासँग रमाईलो उखान टुक्का मिसाउँदै म्याग्दीका उकाली ओरालीमा हिंडिरहेका छन् ।

गत कार्तिक १० गते विष्ट पश्चिम म्याग्दीको सदरमुकाम मानिने दर्बाङको कार्यक्रम सकेर फर्कंदै थिए । उनका अघिपछि करिब ७० कार्यकर्ता,म्याग्दीका पार्टी संयोजक एवं केन्द्रिय सदस्य गोविन्द पौडेल  थिए । बाटोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभाका लागि हिंडेका १८–२० वटा मोटरसाईकल भेटियो । एमाओवादी टोली देखेर राप्रपाका मोटरसाईकलहरु साईड लागे र तिनै मध्य एकजनाले सोधे, ‘खै त तपाईहरुका उम्मोदवार ?’ विष्टले सुनेछन् । अलिपर पुगेपछि जिल्ला संयोजक गोविन्द पौडेलतिर हेर्दै उनले भने ‘हैन यिनले त हाम्रो उम्मेदवार नै पो चिन्न छाडे त गोविन्द जी ?’

अन्य पार्टीका उम्मेदवारहरु मोटर चल्ने बाटोमा कारमा जान्थे । तर विष्ट धुलेरोडमा खुट्टा ठटाएर हिंडीरहेका हुन्छन् । उम्मेदवार माला र अविरले सिंगारीएको हुनुपथ्र्यो तर विष्टमा ती कुनै गुण थिएनन् । तातो घाममा उकालो र ओरालो गर्दा घामले छाला डढेर कालो भैसकेको, झोलामा छाता र पार्टी झण्डा घुसारेर हिंड्ने विष्ट आम कार्यकर्ता भन्दा फरक छैनन् ।

पश्चिम म्याग्दीको ओखरवोटमा पर्ने च्युरिबोटमा विष्ट सहित सबै खाना खान बसेका थिए । अरुले भन्दा विष्टले चाँडै खाएछन्, उठ्नेबेला विष्टले भने ‘लौ है जुवान हो विस्तारै खाओ’ । जुवान शब्द सुनेर उनका पिएसओ रामप्रसाद श्रेष्ठ अकमकिए । विष्टले थपे ‘जुवान हाम्रो रोल्पाको भाषा हो, अन्त जवान भन्दा रहेछन् ।’

उकालो र ओरालोमा आफू अघि र पछिका कार्यकर्तालाई खुव ख्याल गर्दै हिंड्ने विष्टको भाषण गर्ने शैली पनि निकै रमाईलो छ । गाउँका कार्यकर्ताको स्तर बुझेर उखान र टुक्का मिलाउँदै उनले बुढाबुढीहरुलाई हँसाउने गरेका छन् । वैद्य माओवादीलाई ब्यग्य गर्नुपर्दा उनले भन्ने गरेका छन् ‘खानेबेला अभागीलाई रिस उठ्छ भनेजस्तै हो बैद्यको आन्दोलन ।’ संविधानसभा अवसानका कारण र आफू राज्य संरचना तथा शासकिय स्वरुप निर्धारण समितिको सभापति हुँदा गरेका कामको फेहरिस्त राख्दै उनले गाउँका जनतालाई कन्भिन्स गर्ने गरेका छन् ।Lokendra

३० बर्षको राजनीतिक जीवनमा १० बर्ष जेलजीवन भोगेका विष्टको यसपटकको प्रत्यक्ष निर्वाचन पहिलो अनुभव हो । पहिलो संविधानसभामा समानुपातिक तर्फबाट उम्मेदवार बनेका विष्ट नेपाली राजनीतिमा निकै इमान्दार र हक्कि स्वभाका मानिन्छन् । आँटेको काम जसरी पनि गर्ने स्वभाव भएका विष्टले यसपटक अध्यक्ष प्रचण्लाई पर्वत, म्याग्दी र बाग्लुङको सभामा सहभागी गराइसकेका छन् ।

म्याग्दीमा कांग्रेस, एमाले र राप्रपा जस्ता पार्टीले गाउँगाउँमा जनतालाई पैसा बाड्दै हिंडेर बानी बिगारेको हुनाले आफूलाई त्यस्तो कु–संस्कारले पिडित बनाएको बताउँछन् विष्ट ।

ग्रामिण क्षेत्रको भ्रमणका क्रममा उनी नेपाली कांग्रेसका उम्मेदवार खम्विर गर्वुजाको गाउँमा पनि पुगे । विष्टको टोलीलाई देखेपछि एउटी महिला घरको पेटीमा निस्किईन् । उनलाई विष्टले नमस्कार गरे । नमस्ते फर्काउँदै ती महिलाले भनिन् ‘तपाईहरु कस्तो ठिक्क बेलामा आउनुभएछ,पैसा सकिएर बिजोग भएको थियो ।’ एकछिन अकमकिएपछि विष्टले कुरा बुझे र कन्भीन्स गर्दै भने ‘हुन्छ गरौंला, अहिले तपाईलाई एक कौडी दिएपनि कानुन लाग्छ, चुनावपछि सरकारलाई भनेर तपाईको गाउँमा विकास दिन्छु त्यो विकास दुईचार हजारको हुँदैन लाखौको हुनेछ ।’Lokendra 3

विष्टले पहिचान सहितको संघीयता र राज्य पुनःसंरचनाबारे सरल भाषामा जनतालाई बुझाउने गरेका छन् । राष्ट्रिय रुपमा स्थापित नेता आफ्नो घरदैलोमा अएको देख्दा गाउ“लेहरुले पनि निकै उत्साहका साथ उनलाई स्वागत गर्ने गरेका छन् ।

पार्टी फुटको नराम्रो असर परेको म्याग्दीका सवै सभामा भनेजति मानिस आउँदैनन् । मानिस थोरै भएको दिन बेलुका बेडरुममा पल्टिएर जिल्ला संयोजक गोविन्द पौडेलसँग भन्ने गर्छन् ‘आज त प्रशिक्षण पो चलाईयो त बड्डा ।’ अनि दुवै हाँस्छन् । उनले अभियानमा हिंड्ने सबै कार्यकर्ताको झोलामा झण्डा भिर्न अनिवार्य गरेका छन् । आफूले झोलाको दुईतिर दुईओटा झण्डा भिर्ने गर्छन् । पंतिकारको जिज्ञासामा उनले भने ,‘कसैले उम्मेदवार चिनेन् भने भन्न सजिलो हुन्छ झोलामा दुईवटा झण्डा हुने र क्याप लगाउने उम्मेदवार हो ।’ राखुभगवती गाविसबाट शुरुभएको विष्टको मुल टोलीको अभियान २२ गाविस सकेर पुलाचौर पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us