जब हिसिला पीङमा मच्चिन थालिन्

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ६:२३ मा प्रकाशित

Hisila-Ping-Kheldaiकाठमाण्डु–एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराई गम्भीर प्रकृतिका छन् । उनी हाँसेको पनि बिरलै देख्न पाइन्छ । तर, उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमीको आनीबानी भने भट्टराईको भन्दा ठ्याक्कै उल्टो छ । हिसिला चुलबुले स्वभावकी छन् । सबैसँग घुलमिल भैहाल्ने, आत्मियता गाँसीहाल्ने उनको विशेषता हो । पटक पटक मन्त्री भएकी एमाओवादी नेतृ हिसिलाको धेरै बोल्ने र चुलबुले बानी अझै हटेको छैन ।

अहिले उनी काठमाण्डु क्षेत्रनम्बर ७ की उम्मेदवार हुन् । उनी विहानदेखि राती अबेरसम्म पनि चुनावको प्रचारमै व्यस्त हुन्छिन् । घर घरमा भोट माग्दै हिँड्ने क्रममा उनी शुक्रबार इचङ्गुनारायणको तामाङ बस्ती तिनधारे भन्ने स्थानमा पुगिन् । राजधानी काठमाण्डु भित्रै पर्ने त्यो बस्तीमा अझै पनि विकास निर्माणको काम राम्रोसँग भएको छैन । पूर्व भौतिक योजना मन्त्रीसमेत भएकी हिसिलाले स्थानीय महिलाको हात समाउँदै, अंगालो मार्दैै भोट माग्न थालिन् । ‘मलाई चिन्नु त भयोहोला नी, म हिसिला । म भोट माग्न आएको ।’

चुनाव जितेपछि गाउँमा फर्किएर नआउने नेताप्रति स्थानीयले आक्रोश पोखे । बाटो–घाटो र ढलको समस्याबाट पीडित एक स्थानीय महिला झर्किइन्, ‘अहिलेसम्म बाटो पीच छैन । ढल पनि राम्रो छैन । यहाँ विकास गरेको खै ?’ छिर्केबिर्के म्याक्सी लगाएकी, हेर्दा सामान्य देखिने, आफ्नै कद बराबरकी ति महिला जङ्गिएपछि हिसिलालाई पर्यो फसाद ।
उनले आफूबाट गल्ती भएको स्वीकारिन् र आफ्ना दुबै कान समाइन् । अबदेखि गाउँमा नियमित आउने, जनताका गुनासा सुन्ने र समस्या सम्वोधनकालागि सरकारसम्म पुर्याउने उनले प्रतिबद्धता जनाइन् । सो क्षेत्रको समस्या समाधान आफ्नो पहिलो प्राथमिकतामा पार्ने उनको भनाइ थियो ।

स्थानीय एमाओवादी कार्यकर्ता भाइकृष्ण लामालाई पनि हिसिलाले माफ माग्न भनिन् । लामाले पनि आफ्ना दुवै कान समाएर माफ मागे । स्थानीय जनताको समस्या आफूसम्म नपुर्याउने लामालाई हिसिलाको दिएको चेतावनी थियो त्यो ।

Hisila-Yami copyपछि स्थानीय महिलाका दुबै गाला मुसार्दै हिसिलाले अबदेखि गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि जनाइन् । सुरुमा रिसाएका महिला हिसिलाले गल्ती स्वीकार्दै फेरि गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि केही हँसिला देखिए । एकीकृत माओवादीलाई नै भोट दिन उनीहरु सहमत भए ।

भोट पाउने आश्वासनले फुरुङ्ग भएकी हिसिला र उनका कार्यकर्ता त्यहाँबाट अघि बढे । अलि पर पुगेपछि लिङ्गे पिङ देखियो । दशैंकोबेला बनाइएको पिङ खेल्न हिसिलालाई मन लाग्यो । उनले कार्यकर्ताहरुलाई एकछिन रोकिन् र पिङमा मच्चिन थालिन् । स्थानीय बासिन्दा हेर्दै हास्दै गर्न थाले । कार्यकर्ताहरु पनि थपडी बजाउँदै हिसिलालाई अझै मच्चिन हौसाइरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us