अमेरिका र फ्रान्सबीचको सम्वन्ध विग्रियो

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते ४:५७ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक–अमेरिकाले सात करोड फ्रान्सेली नागरिकको फोनकल गोप्यरुपमा रेकर्ड गरेको कुरा सार्बजनिक भएपछि फ्रान्सले आपत्ति जनाएको छ । एक फ्रान्सेली अखबर ‘ले मोन्दे’ले सन् २०१२ जनवरीदेखि सन् २०१३ को बीचमा अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले सात करोड फ्रान्सेली नागरिकको फोनकल रेकर्ड गरेको खुलासा गरेको थियो ।

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्डले अमेरिकी राष्ट्रपति बाराक ओवामासँग कुरा गर्दै यस कदमप्रति आपत्ति जनाएका छन् । उनले एक सहयोगी देशको यस्तो जासूसी सहन नसक्ने बताएको बीबीसीले जनाएको छ । फ्रान्सले अमेरिकी सरकारको यो कदमप्रति विरोध जनाउन अमेरिकी राजदूतलाई समेत बोलाएको थियो ।

अमेरिकी विदेशमन्त्री जोन केरी फ्रान्सको राजधानी पेरिस भ्रमणमा रहेकोबेला यी दुई देशबीचको सम्वन्धमा खलबली पैदा भएको हो ।
अमेरिकी विदेशमन्त्री केरीले भने यस विवादलाई धेरै उचाल्न नहुने प्रतिकृया दिएका छन् । तर, उनले आफ्ना नागरिकको सुरक्षाको लागि अमेरिकी सरकार हरेक कदम चाल्न सक्ने बताएका छन् ।

उनले भनेका छन्, फ्रान्स अमेरिकाको सबैभन्दा पुरानो मित्र राष्ट्र हो,त्यसैले यसलाई धेरै महत्व दिनु जरुरी छैन । यो सत्य हो की अमेरिकालाई आफ्ना नागरिकको सुरक्षाको लागि कैयौं कदम चाल्नुपर्ने हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us