
काठमाण्डु–अबको एक साता नेपाली राजनीति निर्णायक मोडमा हुनेछ । मंसिर ४ गतेकै मितिमा दोस्रो संविधानसभा निर्वाचनका हुने वा नहुने बारेको अन्यौल एक सातापछि समाप्त हुन सक्छ ।
असोज १७ गते सम्बन्धित निर्वाचन कार्यालयमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने,असोज १८ गते समानुपातिकतर्फ निर्वाचन आयोगमा उम्मेदवारको बन्दसूची बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । नेपाली राजनीतिका बारेमा काठमाण्डु, नयाँ दिल्ली, न्यूयोर्क र सिङगापुरका कोठा र होटलमा भएका र हुने औपचारिक तथा अनौपचारिक छलफलको निष्कर्षले संविधानसभा निर्वाचनको भविष्य निर्धारण गर्नेछ । काठमाण्डुको र्याडिसनमा भारतीय अधिकारी सम्मिलित दिवाभोज र चिनिया अधिकारी सहभागी हुने सोल्टी होटलको रात्री भोजमा जति छलफल भए, त्यो भन्दा धेरै गुणा बढी कुराकानी अनौपचारिक वार्तामा हुनेछन । शुक्रबार भएका ती दुवै भोजमा मंसिर ४ गतेकै मितिमा निर्वाचन हुने वा नहुनेमा गम्भीर आशंका व्यक्त भएका थिए ।
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह र संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसँग न्यूयोर्कमा गर्ने वार्तालाई जति चासोका साथ नेपाली राजनीतिमा हेरिएको छ त्यो भन्दा कम चासोमा छैन,भारतीय बुद्धिजीवी एसडी मुनि र चिनिया बुद्धिजीवी ली छोरम वीच सिङगापुरमा हुने वार्ता ।
एकीकृत माओवादी,नेपाली काँग्रेस,एमाले र मधेशवादी दलमा उम्मेदवार छान्नमा देखिएको झमेला र नेकपा–माओवादी नेतृत्वको मोर्चाले घोषणा गरेको १० दिने आमहडताल र उम्मेदवारलाई गाउँ प्रवेशमा रोक लगाउने घोषणा भन्दा संबिधानसभा निर्वाचन हुने वा नहुने भन्ने निर्णय दिल्ली,सिङगापुर,न्यूयोर्क र काठमाण्डुमा हुने गोप्य वार्ताले दिनेछ । भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाउने ३३ दलीय मोर्चाको निर्णयको झडका दिल्लीदेखि न्यूयोर्कसमम पुग्नेछ । चीन र भारतबीच आईतबा र सोमबार वेइजिङमा हुने सीमासम्बन्धी छलफलमा पनि नेपालको विषय उठ्नेछ ।
स्रोतका अनुसार नयाँदिल्लीमा संविधानसभा निर्वाचन मंसिर ४ मै गराउनु पर्ने र राजनीतिक द्धन्द्ध निम्त्याउन नहुने बीच मतभेद छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति सुशील कोइरालालाई मोहन वैद्य नेतृत्वको माओवादीलाई निर्वाचनमा सहभागी गराउन बेइजिङका अधिकारीले दिएको दबाब, दुवै नेताबाट पाएको प्रतिक्रिया, माओवादी नेताहरुसँग याक एण्ड यति होटलमा गरेको अनौपचारिक छलफलपछि चिनियाँ अधिकारीहरु आफै अलमलिएका छन् । अर्को स्रोतअनुसार यूरोपेली युनियन सम्वद्ध मुलुकहरु पनि मंसिर ४ को निर्वाचनले शान्ति ल्याउँछ कि अशान्ति भन्ने विषयमा गम्भीर आँकलन गरिरहेका छन् । उनीहरु पनि अलमलिन थालेका छन् । कुनै अप्रत्याशित घटना नभएमा मंसिर ४ मै निर्वाचन हुन्छ भन्नेहरुको पङित ठूलै छ ।
मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन सार्ने गृहकार्यमा उच्चस्तरिय राजनीतिक समितिमा रहेका नेताहरु स्वंयम पनि लागेको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको ललितपुरस्थित हरिसिद्दीमा शनिबार भएको गोप्य वार्ताले पनि पुष्टि गर्छ ।
काठमाण्डुको जोरपाटीमा भारतीय नागरिक मोहमद्दिन समसुल हकमाथि गोली प्रहार र जनकपुरमा संस्कृत विषयका सह–प्राध्यापक सत्यनारायण गडेरीको हत्याको घटना निर्वाचनका लागि शुभ संकेत होइनन् । केही समयअघि जाजरकोटमा फेला परेका हतियारले पनि निर्वाचन हिंसारहित हुनेमा शंका जन्माउँछ ।
एकसाताभित्र नेकपा–माओवादीको पोलिटव्युरोको बैठकले लिने निर्णय, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा ११ जनाविरुद्ध मुद्दा दर्ता गराउने तयारी, हत्याका आरोपीलाई संविधानसभा सदस्य उम्मेदवार नबनाउने सर्वोच्च अदालतको आदेश,सरकार, उच्चस्तरीय राजनीतिक समिति र राष्ट्रपति कार्यालयले चाल्ने कदम नेपाली राजनीतिका लागि महत्वपूर्ण हुनेछ । मंसिर ४ गतेकै मितिमा निर्वाचन गराउने वा केही समय मिति सारेर नेकपा–माओवादीसमेतको मोर्चालाई संविधानसभामा सहभागी गराउनेमध्ये एउटा निर्णय अनिवार्य हुनेछ ।