सिरिया प्रस्ताव आजै सुरक्षापरिषदको मतदानमा

काठमाण्डु टुडे २०७० असोज ११ गते ५:४८ मा प्रकाशित

UN SCसंयुक्त राष्ट्र संघ सुरक्षा परिषदले सिरियाको रासायनिक हतियार सम्बन्धी प्रस्तावको मस्यौदामा छलफल गरेको छ । रुस अमेरिकाबीच प्रस्तावमा राख्ने शब्दहरुमा सहमति भएपछि प्रस्तावको मस्यौदामाथि छलफल भएको हो । प्रस्तावमाथि शुक्रबार सुरक्षा परिषदका सदस्य राष्ट्रहरुले मतदान गरिने राष्ट्र संघ कुटनीतिज्ञहरुले जनाएका छन् । 
संयुक्त राष्ट्र सुरक्षा परिषदमा १५ राष्ट्रहरु सदस्य छन् । जसमा ५ भिटो अधिकार सहितका स्थायी सदस्य र १० अस्थाई सदस्य हुन्छन् । सन् २०१४ मध्यसम्म सिरियालाई आणविक हतियार मुक्त पार्ने योजनामा रुस र अमेरिका सहमत भएपछि सुरक्षा परिषदमा यस्तो प्रस्ताव आउने वातावरण बनेको हो । सिरिया पनि रुस अमेरिकी प्रस्तावमा सकारात्म भए पछि नयाँ प्रस्ताव सुरक्षा परिषदले पारित गर्ने सम्भावना बढेको छ ।
यस अघि पनि सिरिया र त्यहाँका राष्ट्रपति बसर अल अशद विरुद्ध पश्चिमा देशहरुले ल्याउन खोजेको प्रस्ताव रुस र चीनले भिटो प्रयोग गरेर तीन पटकसम्म असफल पारेका थिए । वर्तमान प्रस्तावमा राखिएका शब्दहरुमा केहि दिन अघि सम्म रुस र अमेरिकाबीच सहमति हुन नसकेपछि प्रस्ताव छलफलका लागि प्रस्तुत हुन सकेको थिएन । विहिवार साँझ मात्र रुस र अमेरिकाबीच प्रस्तवामा राखिने शब्दहरुमा सहमति भएको थियो । अमेरिका र फ्रान्सले सैन्य कार्वाहीको चेतावनी सहितको प्रस्ताव तयार गर्न चाहेका थिए । तर रुसले यसको विरोध गरेको थियो । संयुक्त राष्ट्र सुरक्षा परिषदमा पाँच भिटो अधिकार प्राप्त राष्ट्र मध्ये कुनै एकले मात्र भिटो प्रयोग गरेर प्रस्तवा असफल बनाउन सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us