
काठमाडौँ, २६ साउन । एमाले अध्यक्ष झलनाथ खनाल अमेरिकाबाट शुक्रबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले असन्तुष्ट दलको संविधानसभा निर्वाचन सार्नुपर्ने मागमा सहमत हुन नसकिने बताए । मिति भइसकेको निर्वाचन पछि धकेल्न नसकिने उनको भनाइ थियो । असन्तुष्ट पक्षले राखेका अन्य मागमा भने लचिलो भएर छलफल गर्न सकिने खनालले उल्लेख गरे । अन्तिम समयसम्म पनि असन्तुष्टसँग सहमति प्रयास जारी राखिने जानकारी उनले दिए ।
अध्यक्ष खनाल गत साउन १५ मा अमेरिका गएका थिए । अमेरिका बसाइका क्रममा खनालले ओभसिर्स डेमोक्र्याटिक फोरमको कार्यक्रममा भाग लिनुका साथै संयुक्त राष्ट्रसंघीय महासचिव वान की मुनसँग भेटवार्ता गरेका थिए । महासचिव मुनसँगको भेटमा आसन्न संविधानसभा निर्वाचन र राष्ट्रसंघले नेपालको स्थायित्व र विकासमा गरेको सहयोगलाई निरन्तरता दिनेबारे कुराकानी भएको उनले बताए ।