असन्तुष्ट दलले निर्वाचन चाहेनन: एमाओवादी–एमाले

काठमाण्डु टुडे २०७० साउन २५ गते १५:५८ मा प्रकाशित

काठमाडौँ, २५ साउन । एकीकृत नेकपा माओवादी र नेकपा एमाले मंसिर ४ मा घोषित संविधानसभा निर्वाचन प्रभावित हुने गरी असन्तुष्ट दलसँग सम्झौता नगर्ने निष्कर्षमा पुगेका छन् ।
bartaकोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बिहान भएको दुई दलका शीर्ष नेताबीचको छलफलमा निर्वाचनमा प्रतिकुल असर पुग्ने गरी कसैसँग सम्झौता नगर्ने सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले निर्वाचन सार्नुपर्ने असन्तुष्टको मागमा लचकता नअपनाउने निर्णय भएको बताए ।
एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले निर्वाचन सार्ने गरी असन्तुष्ट दलसँग सहमति नगरिने जानकारी दिनुभयो ।
एमाले नेता बामदेव गौतमले ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाउ आदेशमा भने मूल मर्म परिवर्तह नहुने गरी सामान्य हेरफेर गर्न तयार रहेको बताउनुभयो । असन्तुष्टमध्ये नेकपा–माओवादी नेतृत्वको मोर्चाका अधिकांश माग निर्वाचन नगराउने उद्देश्यले आएको ठहर पनि बैठकले गरेको छ । उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट पक्षमा सम्बोधन गर्न सकिने मागका विषयमा शनिबार निर्णायक वार्ता गर्ने बताएका छन् ।
समितिसँगको वार्तामा माओवादी मोर्चाले १८ बुँदे, उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले ५ बुँदे र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीले ५ बुँदे सर्त पेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us