यस्तो छ चीनमा एमबिबिएस अध्ययनको बास्तविकता

काठमाण्डु टुडे २०७० भदौ १२ गते १०:३७ मा प्रकाशित

Admissions-MBBS-study-Chinaएच बी क्षेत्री
चीनको मेडिकल अध्ययन र त्यहाँका विश्वविद्यालयबाट यथार्थ जानकारी नहुँदा मेडिसिन अध्ययन गर्न चाहने कैयौं नेपाली विद्यार्थीहरू चीनका विश्वस्तरका मेडिकल युनिभर्सिटीमा अध्ययन गर्न पाउने सुवर्ण अवसरबाट बञ्चित भइरहेका छन् । फलस्वरुप उनीहरू स्वदेश वा विदेशका र स्वयं चीनका तुलनात्मक रुपले कमसल खाले विश्वविद्यालयहरूमा भर्ना हुन बाध्य भइरहेका छन् ।

माओ त्सेतुङ कालखण्डको अन्त्य र देङ स्याओपिङको उदयपश्चात सन् १९८० को दशकदेखि चीनले खुलाबजार अर्थतन्त्रको नीति अवलम्बन गरेको यथार्थ सर्वव्यापी छ । सन् १९९० को दशकको अन्त्यदेखि चीनले शिक्षा क्षेत्रमा पनि खुल्ला र प्रतिस्पर्धात्मक नीति अवलम्बन गर्यो । विश्वमा सबभन्दा बढी जसंख्या भएको विशाल देश चीनमा लगभग दुई हजार विश्वविद्यालय तथा उच्च अध्ययन संस्थानहरू र डेढ सयको हाराहारीमा मेडिसिन अध्यापन गराउने विश्वविद्यालय र मेडिकल कलेज विद्यमान छन । चीनका सबै विश्वविद्यालयहरू मेडिकल अध्ययन संस्थानहरू सबै एउटै तहका हुन्छन् भनी सोच्नु हास्यास्पद  र मूर्खता हुनेछ । सन् १९९५ मा चीनको शिक्षा मन्त्रालयले लगभग १०० वटा उच्च तहका विश्वविद्यालयलाई उनीहरूको स्तर बृद्धी गर्ने उद्देश्यले ‘२११ प्रोजेक्ट’ को अवधारणा अघि सार्यो । तत्पश्चात सन् १९९८ मा तत्कालीन चिनिया राष्ट्रपति जियाङ जमिनले विश्वका अन्य विकसित देशका विश्व विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने विश्व स्तरका विश्व विद्यालयहरूको आवश्यकताको घोषणा गरी ‘९८५ प्रोजेक्ट’ को अवधारणाअनुरुप ३९ वटा फस्टटेस्ट विश्व विद्यालयहरूलाई अति महत्वका साथ अघि बढाइरहेको छ ।

चीनमा अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरूलाई एमविविएस पढाई शुरु गरेको डेढ दशक जति भयो । विदेशी विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यममा एमविविएस पढाई शुरु गर्ने चीनको पहिलो विश्वविद्यालय Xian Medical University हो । उक्त विश्व विद्यालयले पहिलोपटक नेपालमा सन् १९९९ मा अङ्ग्रेजी माध्यममा एमविविएस अध्यापन गराउनका लागि नेपाली विद्यार्थीहरू भर्ना गरेको थियो । तत्पश्चात सन् २००० मा Tianjin Medical University, सन् २००१ मा Sichuan University, २००५ मा Wuhan University र २००६ मा Sun Yat-sen University ले पनि अङ्ग्रेजी माध्यममा एमविविएस पढाउनका लागि नेपाललगायत अन्य मुलुकबाट विदेशी विद्यार्थीहरू भर्ना गर्न शुरु गरेका थिए । माथि उल्लेख गरिएका विश्वविद्यालयहरू विश्व प्रसिद्ध छन् । हाल २०१३ सम्म आइपुग्दा Guangzhou Medical University, Kunming Medical University, Huazhong University of Science and Technology लगायत ५२ वटा विश्वविद्यालय, मेडिकल कलेजहरू चीनको शिक्षा मन्त्रालयद्वारा विदेशी विद्यार्थीहरू अङ्ग्रेजी माध्यममा एमविविएसमा भर्ना गर्न योग्य र मान्यता प्राप्त छन् । नेपालमा मेडिकल कलेजको नियमन नेपाल मेडिकल काउन्सीलले गर्दछ भने चीनमा त्यहाँको मेडिकल युनिभर्सिटीहरूलाई चीनको शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले गर्दछ ।

सन् २००१ देखि चीनमा दुर्गम क्षेत्रका केही मेडिकल कलेजहरूले समेत सस्तो फि को आकर्षण दिएर अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरूलाई एविविएसमा भर्ना गर्न शुरु गरेपछि चीनको पूरै मेडिकल एजुकेसनलाई बदनाम गराउने नकारात्मक प्रवृत्ति पनि देखा पर्न थाले । वास्तवमा चीनका दुर्गम क्षेत्रका त्यस्ता मेडिकल संस्थानहरूमा विदेशी विद्यार्थीहरूलाई अङ्ग्रेजीमा एमविविएस पढाउनकालागि योग्य शिक्षक, राम्रा अस्पतालहरू, अङ्ग्रेजीमा पढाउनका लागि आवश्यक पर्ने आफ्नै किताबलगायत अन्य पूर्वाधार थिएनन् । फलस्वरुप लाजै नमानी केही एजेन्सीहरूले नेपाली पाठ्यक्रम र सस्तो फी को लोभ देखाएर नेपाली विद्यार्थीहरूलाई आकर्षण गर्न सफल भए ।

माथि उल्लिखित विकृतिलाई हटाउने उद्देश्यले चीनको शिक्षा मन्त्रालयले सन् २००९ मा Interim Provisions for Quality Control Standards on Undergraduate Medical Education in English for International Students in China (Article 1 to Article 32)को घोषणा गरी चीनमा अङ्ग्रेजी माध्यममा एमविविएस अध्यापनलाई व्यवस्थित गरी गर्यो । www.moe.gov.np

सन् २००९ मा चीनको शिक्षा मन्त्रालयद्वारा घोषणा गरिएका प्रमुख विशेषता यसप्रकार छन् ।

१. अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरूका लागि कोर्ष अवधि इन्टर्नसीपसहित ६ वर्ष हुनेछ । अर्थात् छैटौं वर्षको इन्टर्नसीप पूरा गरेपछि मात्र MBBS Degree प्रदान गरिने छ ।

२. पाँच वर्ष एमविविएस कोर्ष पूरा गरेपछि छैटौं वर्षको ईन्टर्नसीप चीनको आफ्नो युनिभर्सिटीको कुनै अस्पतालमा वा आफ्नो देशको सरकारद्वारा मान्यता प्राप्त कुनै अस्पतालमा गर्नुपर्नेछ ।

३. अङ्ग्रेजी माध्यममा मेडिकल कोर्षका साथै चिनियाँ भाषा अनिवार्य रुपले पढ्नु पर्नेछ । चीनको युनिभर्सिटीको अस्पतालमा ईन्टर्नसीप गर्नु अगावै Chinese Language Proficiency Test HSK 4th Level गर्न अनिवार्य छ ।

४. Grade III, Level A affiliated अस्पताल भएको र  Basic Medicine / Clinical Medicine मा स्नातकोत्तर (First Level Subjects) पढाउन मान्यता प्राप्त मेडिकल संस्थानले मात्र अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीलाई भर्ना गर्न योग्य हुने छ ।

५. प्रत्येक वर्ष विदेशी विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यममा एमविविएस पढाउन योग्यता प्राप्त Medical Institution हरूको नामावली र एमविविएस सीट संख्या तोकी प्रकाशीत गरिने छ ।

अङ्ग्रेजी माध्यममा एविविएसको अध्यापनको स्तरबृद्धिका लागि चीनको शिक्षा मन्त्रालयद्वारा सन् २००९ मा लागू गरिएको नयाँ र कडा नीतिको अवलम्बनपश्चात चीनका दुर्गम क्षेत्रका मेडिकल कलेजहरूलाई अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न प्रतिबन्ध लगाई दण्डित गरी अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न योग्यता प्राप्त ईन्ष्टिच्युटको लीस्टबाट उनीहरूलाई हटाई कालोसूचीमा राखियो ।

चीनको शिक्षा मन्त्रालयले नयाँ नीतिको घोषणा गरी प्रत्येक वर्ष विदेशी विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यममा मेडिसन पढाउन योग्यता भएका मेडिकल अध्ययन सस्थानहरूको नामावली आफ्नो वेबसाइटमा प्रकाशित गर्न थालेपछि त्यसअघि अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरू भर्ना गरिरहेका तर अङ्ग्रेजी माध्यममा पढाउनलाई आवश्यक पूर्वाधार नभएका चीनको दुर्गम क्षेत्रमा अवस्थित कम स्तरका मेडिकल कलेजलाई विदेशी विद्यार्थीहरू भर्ना लिनमा रोक लगाई उनीहरूलाई दण्डित गरियो ।

दण्डित गरिएका त्यस्ता केही मेडिकल कलेजहरूलाई न्यूनतम पूर्वाधार पूरा गरेपछि एक–दुई वर्षपछि फेरि विदेशी विद्यार्थीहरूलाई भर्ना लिन अनुमति दिइयो भने कतिपय मेडिकल कलेजहरूलाई अझ पनि अङ्ग्रेजीमा एमविविएस पढाउनका लागि फुकुवा गरिएको छैन । तर, उदेक लाग्दो त के छ भने कतिपय एजेन्सीले अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरूलाई भर्ना गर्न अनुमति नपाएका दुर्गम क्षेत्रका मेडिकल कलेजमा समेत विद्यार्थीलाई झुक्याएर १०÷१५ लाखमा एमविविएस पढ्न पाइन्छ भन्दै विज्ञापन गरिरहेका छन् ।

नेपाल मडिकल काउन्सीलबाट Eligibility Certificateमा Chinese Mediumभर्ना लिने तर विद्यार्थीहरूलाई अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ भनी भर्ना गरिरहेका छन् ।Medical Council of India (MCI)ले समेत अङ्ग्रेजी माध्यममा विदेशी विद्यार्थीहरू भर्ना गर्न मान्यता प्राप्त मेडिकल संस्थामा मात्र भारतीय विद्यार्थीलाई चीनमा एमविविएस पढ्नका लागि Eligibility Certificate प्रदान गरिरहेको सन्दर्भमा नेपाल मडिकल काउन्सीलले पनिMCI को सिको गरी लागू गर्दा यस क्षेत्रमा देखिएका विकृति धेरै हदसम्म समाधान हुनेमा विश्वस्त हुन सकिन्छ ।

यहाँ स्मरणीय के छ भने चीनका उच्चस्तरकाMedical Institution हरू न त धेरै सस्ता छन् न त गुणस्तरमा नै कम छन् । चीनका Medical Institutionहरूको ट्युसन फी उनीहरूको स्तरअनसारको  फरक–फरक हुन्छ । चीनको एउटा औसत Medical Institutionमा ६ वर्षको एमविविएस कोर्ष पूरा गर्न ट्युसन र होस्टल फी गरी ६ वर्षको हाल विद्यमान विनिमय दरअनुसार न्यूनतम २५ लाखदेखि क्ष्लकतष्तगतष्यल को स्तरअनुरुप ६० लाखसम्म पर्दछ । यसका अलावा १ वर्षको खानाका लागि लगभग १ लाख रुपैयाँ आवश्यक पर्न सक्छ । कसैले हालको सटही दरमा २५ लाखभन्दा कममा चीनमाा एमविविएस गर्न पाइन्छ भन्यो भने तपाई सोच्नुहोस्, त्यहाँ पक्कै पनि केही गडबड छ ।

चीनका उच्तस्तरका मेडिकल संस्थानबाट चाइनिज वा अङ्ग्रेजी कुनै पनि माध्यममा एमविविएस गरेका विद्यार्थीहरूलाई नेपाल मडिकल काउन्सीलको लाईसेन्सिङ परीक्षा उत्तीर्ण गर्न कुनै समस्या छैन । तसर्थ, नेपाली विद्यार्थीहरू चीनमा एमविविएस पढ्नका लागि सस्तो फी का कलेज होइन, केही महँगो भए पनि उच्चस्तरका र ठूला सहरमा अवस्थित विश्वविद्यालय छानेमा, सुरुदेखि नै चाइनिज भाषालाई ध्यान दिएमा एमविविएस अध्ययन पूरा गरिसकेपछि नेपाल मात्र होइन विश्वको जुनसुकै देशमा गए पनि उनीहरू प्रतिस्पर्धा गर्न सक्षम हुनेछन् ।

अन्त्यमा, यो उल्लेख गर्न जरुरी छ कि चीनको राम्रो मेडिकल युनिभर्सिटीबाट एमविविएस अध्ययन पूरा गरिसकेपछि उही विश्वविद्यालयमा वा चीनको कुनै पनि राम्रो विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा एमडी/एमएस गर्नका लागि प्रशस्त अवसर विद्यमान छन् भने चीनको दुर्गम क्षेत्रको कमसल खालका मेडिकल कलेजबाट एमविविएस पूरा गरेपछि चीनको राम्रो मेडिकल युनिभर्सिटीमा एमडी÷एमएसका लागि पैसा तिरेर पनि भर्ना हुन निकै कठिन छ ।
-समयबोध मासिकको भदौ अंकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us