महाअष्टमीका दिनमा पनि वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइने

काठमाण्डु टुडे २०७७ कार्तिक २ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक – विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ ।

घटस्थापनाका दिन वाग्मती सफाइ महाअभियानको ३८८औँ हप्ताको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो ।

पशुपति क्षेत्रमा पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मी भट्टलगायतले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरेको उनले बताए। यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा प्रिया लामिछाने, रमशरण कार्की, खगेन्द्र कार्की, दुर्गा रावल लगायतका अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरी माथिको वाग्मती सफाइको ३४९औँ हप्तामा गोठाटार पुल नजीकको साकुरा उद्यान क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि अभियानकर्मी नदी किनारमा उपस्थित भई अभियानलाई निरन्तरता दिँदैआएका छन् । चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनारमा बस्दै आएका अभियानकर्मी सुरक्षा विधि अपनाएर अभियानलाई निरन्तरता दिइरहेका छन् । अन्य सफाइ अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा अभियानलाई निरन्तरता दिँदै आएका छन् । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा अभियान शुरु भएको छ ।(रासस)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us